एनपीएलको उपाधि भिडन्त : लगातार दोस्रो सिजन लुम्बिनी र सुदूरपश्चिम फाइनलमा आमनेसामने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको बहुप्रतीक्षित उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुने भएको छ। दोस्रो क्वालिफायरमा चितवन राइनोजमाथि ३ विकेटको रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिमले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

सुदूरपश्चिम रोयल्सले एनपीएलको सुरुवाती तीनवटै संस्करणको फाइनल खेल्दै दुर्लभ कीर्तिमान बनाएको छ। यसअघि पहिलो संस्करणको उपाधि भिडन्तमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले लगातार दोस्रो पटक लुम्बिनीसँग नै उपाधिका लागि भिड्ने अवसर पाएको छ।

यस सिजनमा लुम्बिनी र सुदूरपश्चिमबिच तेस्रो पटक भेट हुन लागेको हो। यसअघि लिग चरणको खेल र पहिलो क्वालिफायर दुवै भिडन्तमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरिसकेको छ। लिग चरणमा लुम्बिनी ११ अंकसहित शीर्ष र सुदूरपश्चिम १० अंकसहित दोस्रो स्थानमा रहँदै क्वालिफायर यात्रा तय गरेका थिए।

लगातार दुई पटकको उपविजेता सुदूरपश्चिम यस पटक विगतको पराजयको बदला लिँदै पहिलो ट्रफी उचाल्ने लक्ष्यमा रहनेछ भने डिफेन्डिङ च्याम्पियन लुम्बिनी लगातार दोस्रो पटक उपाधि जितेर आफ्नो वर्चस्व कायम राख्ने योजनामा हुनेछ। दुई बलिया टोलीबिचको यो फाइनल भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा