काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा देशका विभिन्न जिल्लामा प्रहरीले जुवातासका अखडाहरूमा कडा कारबाही सुरु गरेको छ। विभिन्न ६ जिल्लाका घर, गोठ तथा सार्वजनिक स्थानहरूमा छापा मारेर प्रहरीले जुवातास तथा लंगुरबुर्जा खेलिरहेको अवस्थामा ५९ जनालाई रङ्गेहात पक्राउ गरेको छ।
काभ्रेपलाञ्चोक, बारा, सुर्खेत, कपिलवस्तु, प्युठान र सिराहामा चलाइएको स्वीप अपरेशनका क्रममा ८ लाख ८३ हजार ९०५ रुपैयाँ नेपाली र २ हजार ८८० भारतीय रुपैयाँ नगदसहित दर्जनौँ बुक तास र लंगुरबुर्जा बरामद गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।
बाख्राको खोरदेखि घरसम्म जुवाको खाल
प्रहरीका अनुसार बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१८ कट्टा टोलमा ३१ वर्षीय उपेन्द्र प्रसाद साहको बाख्राको खोरमा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ७६ हजार ३९० रुपैयाँ र ८ बुक तास बरामद गरिएको छ।
यस्तै काभ्रेको पनौती नगरपालिका–९ सुन्थानस्थित सुरेश कुमार श्रेष्ठको घरबाट श्रेष्ठसहित ७ जनालाई ३ लाख ४५ हजार रुपैयाँ नगद र १ बुक ताससहित नियन्त्रणमा लिइएको छ।
सुर्खेतमा २८ बुक तास र ६ थान लंगुरबुर्जा बरामद
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित कुल बहादुर सुनारको घर तथा आसपासका स्थानबाट प्रहरीले १८ जना जुवाडेलाई पक्राउ गरेको छ। चाडपर्वमा सञ्चालन हुने लंगुरबुर्जाका ६ वटा सेट, २८ बुक तास र १ लाख ५ हजार ६७० रुपैयाँ नगदसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
त्यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिका–६ बनकसियाबाट जीवन विश्वकर्मासहित १२ जनालाई २ लाख २० हजार १९० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरिएको छ। प्युठान नगरपालिका–२ जुम्रीबाट दिल बहादुर सुनारसहित १४ जना १ लाख ४० हजार नगदसहित र सिराहाको लहान–७ बाट निरज गुप्तासहित ५ जना नगद ३६ हजार ६५५ रुपैयाँ र २ हजार ८८० भारुसहित पक्राउ परेका छन्।
प्रहरीको निगरानी तीव्र
तिहार र छठ जस्ता चाडपर्वमा जुवातास, लंगुरबुर्जा तथा गैरकानूनी आर्थिक गतिविधि नियन्त्रण गर्न देशभर प्रहरीले सादा पोशाक तथा नियमित गस्ती टोली परिचालन गरेको छ। पक्राउ परेका सबै व्यक्तिविरुद्ध जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
