मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
जनकपुरधाम । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेले समर्थन फिर्ता लिँदै आफ्ना सबै मन्त्रीहरूलाई फिर्ता बोलाएपछि मधेस प्रदेश सरकार गम्भीर संकटमा धकेलिएको छ । सरकार गठनका बेला भएको राजनीतिक सहमति पालना नभएको जिकिर गर्दै एमाले शुक्रबार सरकारबाट बाहिरिएको हो ।
एमाले संसदीय दलका नेता सरोज यादवले प्रदेश प्रमुखलाई पत्र लेखेर समर्थन फिर्ताको घोषणा गरेसँगै सरकारमा रहेका चारै जना एमाले मन्त्रीहरूले राजीनामा दिएका छन् । एमाले प्रमुख सचेतक हरिनारायण महतोले मुख्यमन्त्रीलाई पटक-पटक सहमति कार्यान्वयनका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएकाले सरकार छाड्ने निष्कर्षमा पुगेको बताए ।
यता, सत्ता साझेदार दल कांग्रेसले भने एमालेको कदमलाई गैरजिम्मेवार भन्दै आलोचना गरेको छ । कांग्रेस संसदीय दलका मुख्य सचेतक कुँवरकान्त झाले संवादबाटै समस्या समाधान हुन सक्ने अवस्थामा एक्कासि सरकार ढाल्ने प्रयास हुनु अनुचित भएको बताए । अर्को सत्ता साझेदार दल नेकपाले भने दसैँपछि मात्रै समर्थनबारे औपचारिक निर्णय लिने जनाएको छ ।
एमालेको बहिर्गमनसँगै मुख्यमन्त्री कृष्णप्रसाद यादवले अब संवैधानिक प्रावधानबमोजिम एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । यसैबीच प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल जसपाले भने विकसित राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको र नयाँ सरकार निर्माणमा आफ्नो भूमिका अहम् हुने बताएको छ ।

प्रतिकृया दिनुहोस्