काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२८ मा हुने टी-२० विश्वकपका लागि सुरुवाती क्षेत्रीय छनोट चरण खेल्नुपर्ने बाध्यताबाट मुक्ति पाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले हालै सार्वजनिक गरेको नयाँ छनोट निर्देशिकाअनुसार नेपालले अब सिधै ‘ग्लोबल छनोट’ मा प्रतिस्पर्धा गर्न पाउने भएको छ.
आईसीसीको नयाँ मापदण्डअनुसार सन् २०२६ को टी-२० विश्वकपमा सहभागिता जनाएका तर आगामी संस्करणका लागि स्वतः छनोट हुन नसकेका टोलीहरूलाई सिधै ग्लोबल छनोटमा प्रवेश दिने व्यवस्था गरिएको छ। नेपालले सन् २०२६ को विश्वकपमा समूह चरणबाटै यात्रा टुङ्ग्याएका कारण स्वतः छनोटको अवसर गुमाए पनि, सोही विश्वकप खेलेको आधारमा एसिया क्षेत्रीय छनोट खेल्नुपर्ने झन्झटबाट भने बचेको हो.
यसअघि क्षेत्रीयस्तरमा मात्र सीमित छनोट प्रक्रियालाई परिमार्जन गर्दै आईसीसीले ग्लोबल छनोट प्रणालीलाई पुनः ब्युँताएको छ। आईसीसी बोर्ड बैठकबाट पारित भइसकेको यो नयाँ संरचना आगामी नोभेम्बरमा हुने अन्तिम छलफलपछि औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ, जसअन्तर्गत ग्लोबल छनोटमा विभिन्न क्षेत्रीय प्रतिस्पर्धाबाट आउने टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूले विश्वकपमा स्थान पक्का गर्नेछन्।
