काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहमा महासचिव पदलाई लिएर विवाद देखिएको छ।
महासचिव चयनमा सहमति जुट्न नसक्दा ओली समूहभित्र संकट देखिएको हो । चितवनमा भएको दशौँ महाधिवेशनपछि अध्यक्ष ओलीको चाहनामा महासचिव बनेका शंकर पोखरेलले पुनः दोहोरिन खोजेपछि दुई दिनदेखि गुण्डुमा भएको छलफल निष्कर्षविहीन बनेको छ।
शनिबारदेखि ओलीले महासचिवमा सहमति जुटाउने प्रयास गरेका थिए। तर महासचिवका आकांक्षी पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल र प्रदीप ज्ञवालीबीच कुरा मिल्न सकेन।
उपमहासचिव ज्ञवालीले महासचिवमा बलियो दाबी गर्दै अडान नछाडेपछि गुण्डु बैठकले निचोड दिन नसकेको हो। ओली भने पोखरेललाई निरन्तरता दिने पक्षमा छन्।
तर उपाध्यक्ष विष्णु पौडेल महासचिवमा प्रदीप ज्ञवालीलाई अघि बढाउने पक्षमा उभिएका छन् । सुरुमा पृथ्वी सुब्बा गुरुङलाई महासचिव बनाउने प्रयास भए पनि अन्त्यमा ज्ञवालीतर्फ पौडेलको समर्थन गएको हो ।
ज्ञवालीले सुरुदेखि नै महासचिवमा दाबी गर्दै आएका थिए । तर ओलीले उनलाई उपमहासचिवमै निरन्तरता दिन खोजेका थिए । चार दिनअघि नै महासचिव नपाए केन्द्रीय सदस्यमा मात्रै उठ्ने संकेत ज्ञवालीले दिएका थिए।
सोमबार गुण्डुमा भएको बैठकमा सहमति नजुटेपछि ज्ञवाली बैठक छाडेर हिँडेका छन् । ओलीले पोखरेललाई महासचिव प्रस्ताव गरेपछि ज्ञवाली बैठक स्थलबाट बाहिरिएका हुन्।

