काठमाडौँ : नेकपा एमालेका सचिव लेखराज भट्टले सचिव पदमा उम्मेदवार नबन्ने बताएका छन्।
अध्यक्ष केपी शर्मा ओली समूहबाट सचिव उम्मेदवारमा नाम आएपछि भट्टले त्यसबारे आफूलाई जानकारी नभएको बताए।
नेकपा एमालेको जारी ११औँ महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार ओलीले पदाधिकारीको नाम टुंगो लगाएका थिए। सोही क्रममा सचिवमा भट्टको नाम समावेश गरिएको थियो।
तर भट्टले सचिवमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । उनी पूर्वमाओवादी पृष्ठभूमिका नेता हुन्।
ओली समूहबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंगो लागेको छ । ज्ञवालीले महासचिवमा आकांक्षा देखाएका थिए । तर सहमतिमा उनलाई उपाध्यक्षमा राखिएको हो ।
महासचिवमा शंकर पोखरेलको नाम फाइनल भएको छ। उपमहासचिवमा रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम टुंगो लागेको छ।
सचिवमा नौ जना निर्वाचित हुने व्यवस्था छ । ओली समूहबाट पद्मा अर्याल, छवि विश्वकर्मा, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराईको नाम फाइनल भइसकेको छ।
लेखराज भट्ट उम्मेदवार नबन्ने भएपछि ओली समूहले सचिवमा अर्को उम्मेदवार अघि सार्नुपर्ने भएको छ।

