आईजीपी कार्की आज आयोगमा बयान दिन जाने, दुवाडी र खापुङको पनि जारी

काठमाडौं : भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न गठित आयोगले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बयानका लागि बोलाएको छ ।

आईजीपी कार्कीलाई शुक्रबार बयान लिनका लागि बोलाइएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए।

तत्कालीन एआईजी कार्की जेनजी आन्दोलनको पहिलो दिन प्रहरी प्रधान कार्यालयकै मानव स्रोत विभागमा कार्यरत थिए । उनलाई २४ गते बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो।

कार्की कात्तिक २७ गते प्रहरी महानिरीक्षक बनेका हुन्।

यस्तै, बिहीबारदेखि नै बयान दिन आयोग पुगेका तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्व गृहसचिव गोकर्णमणि दुवाडीको बयान पनि जारी छ ।

यी तीन जनाको बयान सकिएपछि पूर्वगृहमन्त्री रमेश लेखक र त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने आयोगको तयारी छ।

जेनजी आन्दोलनमा भदौ २३ गते भएको राज्यको दमन र २४ गतेको विध्वंशका घटना छानबिन गरी दोषीलाई कारबाही सिफारिस गर्न सक्ने अधिकार आयोगलाई छ।

भदौ २३ र २४ अनि त्यसपछि गरी ७७ जनाको मृत्यु भएको छ । जनजी आन्दोलनमा २ हजार ४२९ व्यक्ति घाइते भएका थिए ।

जेनजी आन्दोलनको क्षति मूल्यांकन समितिको प्रतिवेदन अनुसार उक्त आन्दोलनका कारण भौतिक क्षति ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबर भएको छ ।

त्यस्तै, प्रभावित निकायरसंस्था २ हजार १६८ पुगेका छन् । २ हजार ६७१ भवनमा क्षति पुगेको छ । १२ हजार ६५९ सवारीसाधन क्षतिग्रस्त हुँदा करिब १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबर नोक्सान भएको प्रतिवेदनमा उल्लेख छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा