काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आज वन, भूमि, महिला र श्रम मन्त्री नियुक्ति गर्न लागिएको हो।
शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ ।
श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ ।
माधव चौलागाईं
माधव चौलागाईं जुम्लाका हुन् । अहिले वन तथा वातावरणमन्त्रीको रूपमा सिफारिस भएका छन्। उनी ‘जुरुक्कै कर्णाली’ गीतका लेखक र ‘कुडा कर्णालीका’ साहित्य महोत्सवका आयोजक हुन् । चौलागाईंले स्वास्थ्य र ग्रामीण विकासमा मास्टर डिग्री प्राप्त गरेका छन् र हाल मानव शास्त्रमा एमफिल गर्दै छन्।
डा. कुमार इङनाम
वरिष्ठ अधिवक्ता र प्राध्यापक, डा. कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रूपमा नियुक्त हुँदैछन् । उनले शिक्षा र वकालतमा लामो अनुभव सँगालेका छन् ।
राजेन्द्रसिंह भण्डारी
पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा नियुक्त हुँदैछन्। उनी बैतडी निवासी हुन् र नेपाल प्रहरीमा लामो समय सेवा गरेका थिए ।
श्रद्धा श्रेष्ठ
श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको रूपमा सिफारिस भएकी छन्। उनले नेपाल पर्यटन बोर्डमा ‘सस्टेनेबल टुरिजम’ परियोजना प्रमुखको रूपमा काम गरेको अनुभव छ।
यसअघि मन्त्रिपरिषद् १० सदस्यीय थियो । पछिल्लो पटक ९ कात्तिकमा तेस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गरेर १० सदस्य पुर्याइएको थियो । त्यसबेला डा सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए ।

