काभ्रेपलाञ्चोक–मकवानपुर जोड्ने पुल आठ वर्षपछि पनि अधुरै

काभ्रेपलाञ्चोक — बाग्मती प्रदेशको राजधानी हेटौँडा र काभ्रेपलाञ्चोकलाई जोड्ने बागमती नदीमाथि निर्माणाधीन पुल आठ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा निर्माणाधीन यो पुल दुई वर्षमै सम्पन्न गर्ने सम्झौता भए पनि अझै अधुरै छ।

पुल निर्माणको ठेक्का महादेव–शिखर–तामाकोशी–जेभी कम्पनीले लिएको थियो। २०७३/७४ मा ११ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भए पनि काम सुस्त गतिमा अघि बढेको छ। अहिलेसम्म पिल्लर उठाउने, नदीको बीचमा पाइलिङ तथा काभ्रेपलाञ्चोकतर्फको पाइलिङ मात्र सम्पन्न भएको छ। निर्माण कम्पनीले हालसम्म ३० प्रतिशत मात्र काम सम्पन्न भएको दाबी गरेको छ।

पुल निर्माण नहुँदा खानीखोला र महाभारत गाउँपालिकाका बासिन्दाले हेटौँडा आवतजावत गर्न कठिनाइ भोग्नुपरेको छ। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले पुल निर्माणको ढिलाइले स्थानीयवासीलाई सास्ती भएको बताउनुभयो।

निर्माण व्यवसायी खड्ग गोपालीका अनुसार सडक नभएको स्थानमा पुल निर्माणको ठेक्का दिइएकाले सामग्री ढुवानीमा समस्या भई केही ढिलाइ भएको हो।

यसैबीच, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र भौतिक पूर्वाधार विकासमन्त्री अमनलाल मास्केले पुललाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभएको छ। स्थानीय प्रतिनिधिहरूले मुख्यमन्त्री लामालाई पुल शीघ्र सम्पन्न गर्न ध्यानाकर्षण पत्र बुझाएका छन्। मुख्यमन्त्री लामाले मन्त्री मास्केलाई पुल निर्माणको प्रक्रिया चाँडो अघि बढाउन निर्देशन दिनुभएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा