साउदीसँग रक्षा सम्झौता भए पनि हूथीविरुद्ध सेना नपठाउने टर्कीको घोषणा
काठमाडौँ । साउदी अरब र पाकिस्तानसँग त्रिपक्षीय रणनीतिक सुरक्षा साझेदारीमा हस्ताक्षर गरेको टर्कीले यमनका हूथी विद्रोहीविरुद्धको सैन्य द्वन्द्वबाट आफू अलग रहने स्पष्ट घोषणा गरेको छ । साउदी क्षेत्रमा हूथी आक्रमण बढिरहेका बेला टर्कीका रक्षामन्त्रीले अङ्काराको सैन्य रणनीति आक्रमणकारी नभई आत्मरक्षात्मक हुने प्रस्ट पारेका हुन् ।
टर्कीका रक्षामन्त्री याशर गुलेरका अनुसार लाल सागर तथा यमन क्षेत्रमा सक्रिय हूथी विद्रोही समूहसँग सैन्य मुठभेड गर्ने टर्कीको कुनै मनसाय छैन । रियादलाई दिइने सुरक्षा सहयोग साउदी भूमि र पूर्वाधारको सुरक्षा सुनिश्चित गर्ने आधुनिक डिफेन्स क्षमता वृद्धिमा केन्द्रित रहने उनले स्पष्ट पारेका छन् ।
गत अगस्टमा सम्पन्न भएको ‘मक्का संयुक्त रक्षा सम्झौता’ अनुमोदनका लागि टर्कीको संसद्मा दर्ता भएसँगै यो विषय अन्तर्राष्ट्रिय कूटनीतिमा चर्चाको विषय बनेको हो । सम्झौतामा एक देशमाथिको आक्रमणलाई सबै साझेदारमाथिको आक्रमण मानिने धारा समावेश भए पनि टर्कीले यसलाई यमन युद्धसँग नजोड्न आग्रह गरेको छ ।
यस घोषणासँगै मध्यपूर्वको जटिल भूराजनीतिक तनावमा टर्कीले सन्तुलित भूमिका निर्वाह गर्न खोजेको विश्लेषण गरिएको छ । इरानसँगको कूटनीतिक सम्बन्ध र खाडी मुलुकहरूसँगको आर्थिक साझेदारी दुवैलाई जोगाउने रणनीतिमा टर्की अघि बढेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्