एनपीएल ‘होम एन्ड अवे’ ढाँचामा खेलाउन देशका ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला बन्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) लाई भविष्यमा ‘होम एन्ड अवे’ अवधारणामा सञ्चालन गर्न सरकारले देशका प्रमुख आठ सहरहरूमा अन्तर्राष्ट्रिय मापदण्डका सुविधासम्पन्न क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया अघि बढाएको छ ।
चाडपर्वको उल्लासमय माहोलबिच आजदेखि सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकारको यस दीर्घकालीन र महत्त्वपूर्ण योजनाबारे जानकारी दिएका हुन् ।
मन्त्री लम्सालका अनुसार पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको यस महत्त्वाकांक्षी योजनाअन्तर्गत निर्माण हुने सबै रङ्गशालाहरूमा रात्रिकालीन खेल सञ्चालन गर्न सकिने गरी उच्च प्रविधियुक्त फ्लडलाइट जडान गरिनेछ । साथै, प्रत्येक रङ्गशालामा कम्तीमा ८ हजार दर्शक सहजै अटाउन सक्ने आधुनिक प्यारापिट र आवश्यक संरचना निर्माण गरिनेछ । सरकारले आगामी तीन वर्षभित्र यी आठवटै रङ्गशालाको निर्माण कार्य सम्पन्न गर्ने स्पष्ट लक्ष्य लिएको छ ।
काठमाडौँ बाहिर विभिन्न प्रदेश र सहरहरूमा आधुनिक रङ्गशाला निर्माण भएपछि एनपीएललाई वास्तविक रूपमा घरेलु मैदान र विपक्षीको मैदान (होम एन्ड अवे) को आधारमा खेलाउन सकिनेछ । यस योजनाले नेपाली क्रिकेटलाई राजधानी केन्द्रित अवस्थाबाट मुक्त गर्दै मोफसलमा खेल संस्कृति, स्थानीय प्रतिभा प्रस्फुटन र क्षेत्रीय अर्थतन्त्र विस्तारमा ऐतिहासिक योगदान पुर्याउने मन्त्रालयको विश्वास छ ।
मन्त्री लम्सालले सरकारको यस पूर्वाधार विस्तार अभियानसँग तादात्म्य मिलाउँदै नेपाल क्रिकेट संघ (क्यान) लाई पनि दीर्घकालीन संरचनात्मक तयारीहरू तीव्र गतिमा अघि बढाउन आह्वान गरेका छन् । ‘नेपाली क्रिकेटको महाकुम्भ’ का रूपमा स्थापित हुँदै गएको एनपीएल सुरु भएकै दिन सरकारबाट आएको यो प्रतिबद्धताले देशभरका खेलाडी, क्लब तथा लाखौँ क्रिकेट समर्थकहरूमा नयाँ उत्साह र ऊर्जा थपेको छ ।

प्रतिकृया दिनुहोस्