एनपीएल देशकै ठूलो खेल महोत्सव, विदेशी खेलाडीलाई स्वागत गर्दै प्रधानमन्त्री बालेनले भने- ‘नेपाली क्रिकेट अमर रहोस्’
काठमाडौँ । देशकै बहुप्रतीक्षित क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि औपचारिक रूपमा सुरु भएको अवसरमा प्रधानमन्त्री बालेन शाहले भव्य सफलताको शुभकामना व्यक्त गरेका छन् । एनपीएलले नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन ऐतिहासिक भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत जारी सन्देशमा प्रधानमन्त्री शाहले एनपीएल केही वर्षको छोटो अवधिमै नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित खेलकुद महाकुम्भका रूपमा विकसित भएको बताएका छन् । उनले प्रतियोगितामा सहभागिता जनाउन विश्वका विभिन्न देशबाट काठमाडौँ आइपुगेका दिग्गज अन्तर्राष्ट्रिय क्रिकेटर, ख्यातिप्राप्त कमेन्टेटर तथा अफिसियलहरूलाई खुला हृदयले स्वागत गरेका छन् ।
त्यस्तै, घरेलु खेलाडीहरूको प्रतिभा प्रस्फुटनमा एनपीएलले नयाँ आयाम थपेको उल्लेख गर्दै उनले प्रतियोगिताको सुव्यवस्थित आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान), क्लब व्यवस्थापक तथा प्रायोजकहरूलाई धन्यवाद दिएका छन् । आफ्नो सन्देशको भावुक टुंगो लगाउँदै उनले ‘नेपाली क्रिकेट अमर रहोस्’ लेखेका छन् ।
कीर्तिपुर मैदानमा आजदेखि सुरु भएको एनपीएलमा आठ फ्रेन्चाइज टिमहरू मैदानमा उत्रँदैछन् । अत्याधुनिक डीआरएस प्रविधि तथा डिजिटल प्रसारणसहित सुरु भएको यस प्रतियोगिताले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।

प्रतिकृया दिनुहोस्