रास्वपा सभापति रवि लामिछाने पत्नीसहित तीनदिने धार्मिक तीर्थाटनमा भारततर्फ, कैंची धाममा दर्शन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पारिवारिक तीर्थयात्राका सिलसिलामा छिमेकी मुलुक भारत भ्रमणमा निस्किएका छन् । पत्नी निकिता पौडेलसहितको उनको टोली आज बिहान संघीय राजधानी काठमाडौंबाट धनगढी हुँदै भारततर्फ प्रस्थान गरेको हो ।
पारिवारिक तीर्थाटनमा निस्किएको यस भ्रमण दलमा नेतृ प्रतिभा रावल समेत संलग्न रहेकी छन् । धनगढी विमानस्थलमा अवतरणपश्चात् टोली पश्चिमी नाका भएर भारततर्फ अघि बढेको सचिवालय स्रोतले जनाएको छ । भ्रमणलाई पूर्ण रूपमा धार्मिक तथा आध्यात्मिक यात्राको संज्ञा दिइएको छ ।
भ्रमण तालिकाअनुसार लामिछानेले भारतको उत्तराखण्ड राज्यको नैनीतालस्थित विश्वचर्चित कैंची धाममा पुगेर नीम करौली बाबाको समाधिस्थलमा प्रार्थना गर्नेछन् । त्यसपछि आसाम राज्यको गुवाहाटीस्थित प्रसिद्ध कामाख्या देवीको मन्दिरमा परिवारसहित विशेष पूजाअर्चना र दर्शन गर्ने योजना रहेको छ ।
तीर्थाटन तथा धार्मिक अनुष्ठान पूरा गरी लामिछाने आगामी तीन दिनपछि स्वदेश फर्कने कार्यक्रम रहेको उनको निजी सचिवालयले पुष्टि गरेको छ ।

प्रतिकृया दिनुहोस्