जलवायु हानि नोक्सानी कोषबाट नेपालले पाउने भयो २० मिलियन डलर: बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा खर्च गरिने
काठमाडौँ । मनसुनजन्य विपद्बाट तहसनहस भएको भोटेकोशी तथा त्रिशूली करिडोरका बाढीपीडित समुदायको उद्धार र दिगो पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसङ्घीय जलवायु संरचनाअन्तर्गतको ‘हानि नोक्सानी कोष’ (लस एन्ड ड्यामेज फन्ड) ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब नेपाली रुपैयाँ) सहयोग दिने निर्णय गरेको छ । कोषको बिहीबार बसेको उच्चस्तरीय बोर्ड बैठकले नेपालको सहायता प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।
यसअघि अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त पहलमा मन्त्री डा. स्वर्णिम वाग्ले र मन्त्री गीता चौधरीले विपद् संकटग्रस्त क्षेत्रको पुनरुत्थानका लागि अन्तर्राष्ट्रिय कोषमा औपचारिक दाबी पेस गरेका थिए । नेपालको सोही कूटनीतिक अग्रसरतापछि बोर्डका सदस्य राष्ट्रहरूबीच गहन प्राविधिक मूल्याङ्कन भएपश्चात् नेपाललाई उच्च प्राथमिकतामा राखेर अनुदान सहायता उपलब्ध गराउने टुङ्गो लागेको हो ।
गत भदौ १० गतेको जलप्रलयबाट प्रभावित भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा करिब ६० हजारभन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित भएका छन् भने हजारौँ घरपरिवार घरबारविहीन बनेका छन् । बाढीका कारण अर्बौं रुपैयाँ बराबरका भौतिक संरचना, मोटरेबल पुल, विद्यालय, स्वास्थ्य चौकी तथा स्थानीय सडकहरू क्षतिग्रस्त भएका छन् ।
अन्तर्राष्ट्रिय कोषबाट प्राप्त हुने यो अनुदान रकम बाढीग्रस्त क्षेत्रमा दीर्घकालीन तटबन्ध निर्माण, आधुनिक विपद् पूर्वसूचना प्रणाली, क्षतिग्रस्त सामुदायिक पूर्वाधारको पुनर्निर्माण र पीडित नागरिकहरूको जीविकोपार्जन पुनर्स्थापनामा परिचालन गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्