वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर घट्ने क्रममा ब्रेक, असोजका लागि १६ बैंकको दर यथावत्
काठमाडौँ । लामो समयदेखि लगातार घट्दै आएको वाणिज्य बैंकहरूको निक्षेप ब्याजदरको शृङ्खलामा चालु आर्थिक वर्षको असोज महिनामा भने केही स्थायित्व देखिएको छ। सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर विवरण अनुसार अधिकांश बैंकले भदौ महिनाकै दरलाई निरन्तरता दिएका छन्। पछिल्लो विवरण अनुसार जम्मा ४ वटा बैंकले मात्र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १६ वटा बैंकले साविककै दर कायम राखेका छन्।
असोज महिनाका लागि ब्याजदर घटाउने बैंकहरूमा एभरेस्ट, नबिल, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंक रहेका छन्। यसमध्ये एभरेस्ट बैंकले सबैभन्दा धेरै ०.५५ प्रतिशत विन्दुले ब्याजदर घटाएर ३.५ प्रतिशतमा झारेको छ। त्यस्तै, नबिलले ४.२५, स्ट्यान्डर्ड चार्टर्डले ३.७५ र कुमारी बैंकले ३.७३ प्रतिशत ब्याजदर तोकेका छन्। बजारमा कर्जाको मागमा देखिएको सामान्य सुधार तथा चाडपर्व नजिकिँदै जाँदा बैंकिङ गतिविधि बढ्ने अपेक्षaका कारण अधिकांश बैंकले ब्याजदर स्थिर राख्ने रणनीति अपनाएका हुन्।
असोजमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा बढी ब्याज दिने बैंकको रूपमा प्रभु बैंक अग्रस्थानमा रहेको छ, जसले भदौकै ४.५५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ। बैंकहरूको यो सामान्य घटबढसँगै समग्र वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर भदौको ४.१४ प्रतिशतबाट घटेर ४.०९ प्रतिशतमा सीमित भएको छ। बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार निक्षेपको ब्याजदर लगभग तलतर्फको अन्तिम बिन्दुमा पुगिसकेकाले अब यो स्थिरतातर्फ अग्रसर भएको छ।

प्रतिकृया दिनुहोस्