कांग्रेस इतर समूहको राष्ट्रिय भेलाः नीति, विधान र समसामयिक राजनीति समेट्दै पाँच प्रतिवेदनमाथि छलफल
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा पार्टीको नीति, विधान र समसामयिक राजनीतिक विषय समेटिएका पाँचवटा महत्त्वपूर्ण प्रतिवेदनहरूमाथि छलफल सुरु भएको छ। राजधानीमा जारी तीनदिने भेलाका क्रममा शीर्ष नेताहरूले आफ्ना विषयगत कार्यपत्र तथा प्रस्तावहरू प्रस्तुत गरेका हुन्।
भेलामा नेता विमलेन्द्र निधिले राजनीतिक, डा. प्रकाशशरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानुन तथा विधान र उमाकान्त चौधरीले साङ्गठनिकसम्बन्धी प्रतिवेदन पेस गरेका छन्। सोही क्रममा नेता निधिले वर्तमान भेलालाई औपचारिकता दिँदै पार्टीको नीतिगत सम्मेलनका रूपमा परिणत गर्नुपर्ने मुख्य प्रस्ताव अगाडि सारेका छन्। प्रस्तुत प्रतिवेदनहरूमाथि सातै प्रदेशका प्रतिनिधिहरूले समूहगतरूपमा छलफल गरिरहेका छन् र प्राप्त सुझावहरूलाई अन्तिम निष्कर्षमा समेटिनेछ।
पूर्वमहामन्त्री तथा भेलाका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा जारी यस भेलाको उद्घाटन पूर्वप्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले गरेका थिए। स्वास्थ्योपचारपश्चात् स्वदेश फर्किएका देउवाको प्रमुख आतिथ्यमा सुरु भएको यो भेलाले पार्टीभित्रको आन्तरिक सुदृढीकरण, विशेष महाधिवेशन तथा अदालतमा विचाराधीन विषयहरूमा आवश्यक साझा रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्