सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन हुने
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसमितिको यस निर्णयसँगै महाधिवेशन नभएसम्मका लागि पार्टीका नियमित गतिविधिहरू राष्ट्रिय भेला र सम्मेलनका संयोजकहरूको समन्वय तथा सभापतिको निर्देशनमा अघि बढाइने भएको छ।
बैठकले मुलुकको वर्तमान परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई प्राथमिकतामा राखेको छ। लोकतन्त्रवादी तथा राष्ट्रिय शक्तिहरूसँगको संवादलाई तीव्रता दिँदै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणमा क्रियाशील रहने कांग्रेसले जनाएको छ। त्यस्तै, सनातन धर्म, संस्कृति र राष्ट्रिय पहिचानको जगेर्ना गर्दै हिन्दु, बौद्ध, किरात र प्रकृति धर्मको संरक्षणसहित धार्मिक स्वतन्त्रता सुनिश्चित गर्ने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ।
नेता प्रकाशशरण महतका अनुसार जनअपेक्षाअनुरूप संविधानमा आवश्यक संशोधन गर्न सम्बन्धित सबै पक्षसँग छलफल गरी निष्कर्षमा पुग्ने निर्णयसमेत कांग्रेसले गरेको छ। यसैबीच, गत साउन ३० र ३१ गते सम्पन्न राष्ट्रिय सम्मेलनमा आएका सुझावहरू समेटेर प्रस्तावलाई परिमार्जनसहित अन्तिम रूप दिने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिलाई प्रदान गरिएको छ।

प्रतिकृया दिनुहोस्