व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टको घरमा छापा
काठमाडौं : सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टको घरमा छापा मारिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख गजेन्द्रकुमार ठाकुरका अनुसार मंगलबार भट्टको सानेपा र अग्रवालको लाजिम्पाटस्थित निवासमा पुगेर आवश्यक कागजात संकलन गरिएको हो ।
यससँगै महाराजगञ्जस्थित हिमालयन रि–इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा समेत विभागले छापा मारेको जनाएको छ। अनुसन्धानका क्रममा कागजातका साथै मोबाइल, सीपीयू लगायत सामग्री जफत गरिएको छ।
विभागका अनुसार दुवै व्यवसायी हाल नियन्त्रणमा छन् । भट्टलाई चैत १९ गते र अग्रवाललाई चैत २१ गते पक्राउ गरिएको थियो भने उनीहरूमाथि म्याद थप गरी अनुसन्धान जारी छ।
इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबारको विषयमा अनुसन्धान हुँदै आएको छ। अग्रवाल शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् भने भट्ट इन्फिनिटी होल्डिङ्सका प्रमुख हुन्।

प्रतिकृया दिनुहोस्