परराष्ट्रमन्त्रीको सम्पत्ति : तीन जिल्लामा जग्गा र २२ तोला सुन
काठमाडौं : रास्वपाका नेता तथा परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार खनालसँग काठमाडौंको टोखामा घर तथा तीन जिल्लामा जग्गाजमिन रहेको उल्लेख गरिएको छ।
विवरणअनुसार काठमाडौं महानगरपालिका–१० स्थित टोखामा ६ आना क्षेत्रफलमा बनेको एक घर रहेको जनाइएको छ। जग्गाजमिनतर्फ तनहुँको भानुमा १५ रोपनी पुर्ख्यौली जग्गा, नवलपरासी पूर्वको देवचुलीमा १२ रोपनी तथा बाँकेको नेपालगन्जमा २ कठ्ठा जग्गा रहेको उल्लेख गरिएको छ।
नगद तथा जिन्सी सम्पत्तिअन्तर्गत उनीसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको छ भने १० लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख गरिएको छ।
खनालको विभिन्न कम्पनी तथा सेयर बजारमा समेत लगानी रहेको जनाइएको छ। पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्पा इन्टरनेशनलमा शतप्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत सेयर स्वामित्व रहेको उल्लेख गरिएको छ। साथै बीपीडब्ल्यू लघुवित्त, ओम मेघश्री फर्मास्युटिकल्स, ग्लोबल आइएमई बैंकलगायत जलविद्युत तथा सार्वजनिक कम्पनीहरूमा पनि लगानी रहेको जनाइएको छ।
सवारी साधनतर्फ उनले करिब ४० लाख रुपैयाँ मूल्यको गाडी प्रयोग गरिरहेको उल्लेख छ। साथै ७५ लाख रुपैयाँ ऋण रहेको विवरणमा खुलाइएको छ।

प्रतिकृया दिनुहोस्