October 17, 2026, Saturday
KN hd tv

अन्तर्राष्ट्रिय समुदायसमक्ष बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता

काठमाडौँ : सरकारले बहुपक्षीयताप्रति सधैं प्रतिबद्ध रहेको जनाएको छ। न्युयोर्कमा अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालले बहुपक्षीयता र अन्तर्राष्ट्रिय ऐक्यबद्धताप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको हो।

संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले २६३औँ नेपाली सेना दिवसको अवसरमा विशेष स्वागत समारोह आयोजना गरेको थियो। समारोहमा नेपालले राष्ट्रसङ्घलाई केन्द्रमा राख्दै वर्तमान विश्वले भोगिरहेका चुनौती बहुपक्षीयताको प्रवर्द्धनमार्फत समाधान गर्न सकिने बताएको छ।

स्थायी प्रतिनिधि लोकबहादुर थापाले नेपाली सेनाको गौरवशाली इतिहास, सेवा, बलिदान र व्यावसायिकताको जानकारी दिएका थिए। नेपाली सैनिकहरूले राष्ट्रिय अखण्डता रक्षा गर्नुका साथै विश्व शान्ति र सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख गरे।

हालसम्म एक लाख ६० हजारभन्दा बढी नेपाली शान्ति सैनिकले विभिन्न राष्ट्रसङ्घीय ‘मिसन’मा सेवा गरिसकेको जानकारी दिंदै नेपालले बहुपक्षीयता र अन्तर्राष्ट्रिय ऐक्यबद्धताप्रति आफ्नो प्रतिबद्धता निरन्तर प्रदर्शन गर्दै आएको उनले बताए।

संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जिन पियर लाक्रोँले नेपाली शान्ति सैनिकको समर्पण र व्यावसायिकताको प्रशंसा गर्दै योगदानप्रति आभार व्यक्त गरेका थिए।

समारोहमा विभिन्न देशका राजदूत, कूटनीतिज्ञ, सैन्य तथा प्रहरी सल्लाहकार, राष्ट्रसङ्घका उच्च अधिकारी, नेपालका मित्र र पूर्वसैनिक अधिकारीहरूको पनि उपस्थिति थियो।

शीर्ष समाचार

धेरै पढिएको