रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्चमा आज पनि सुनुवाइ
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा सोमबार पनि सुनुवाइ हुने भएको छ ।
आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको रिटमा सोमबार पनि सुनुवाइ जारी रहने भएको हो। लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा आइतबार सर्वोच्चमा सुनुवाइ भएको थियो।
सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको हो। सुनुवाइ नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णय गरेपछि कानुनी विवाद उत्पन्न भएको हो।
उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
गत पुस ३० गते महान्यायाधिवक्ता भण्डारीले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकिल कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन्। निर्देशनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधनमार्फत फिर्ता लिन भनिएको थियो।

प्रतिकृया दिनुहोस्