October 20, 2026, Tuesday
KN hd tv

यूएईमा रहेका नेपालीलाई अफवाह नफैलाउन दूतावासको आग्रह

काठमाडौं : युनाइटेड अरब इमिरेट्स (यूएई) मा विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँस्थित नेपाली दूतावासले नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गरेको छ ।

दूतावासले जारी गरेको ‘एडभाइजरी–३’ मार्फत यूएईको वर्तमान अवस्थासँग सम्बन्धित संवेदनशील सूचना, भिडियो वा तस्वीर सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा पोस्ट, प्रसारण वा सेयर नगर्न अनुरोध गरिएको हो ।

यस्ता सामग्री सार्वजनिक हुँदा सुरक्षा अवस्थाबारे भ्रम फैलिन सक्ने भएकाले जिम्मेवार व्यवहार गर्न दूतावासले अपिल गरेको छ । यूएईमा बसोबास गर्ने सबैले त्यहाँको कानुन अनिवार्य रूपमा पालना गर्नुपर्ने भएकाले गैरकानुनी वा अनुमतिविनाका गतिविधिमा संलग्न नहुन पनि सचेत गराइएको छ।

यस्ता गतिविधिमा संलग्न भएको पाइए यूएईको कानुनअनुसार १ देखि ३ वर्षसम्म कैद सजाय र १ लाखदेखि २ लाख दिरामसम्म जरिबाना हुन सक्ने उल्लेख गरिएको छ ।

त्यस्तै मिसाइल वा ड्रोन अवरोध गर्दा जमिनमा खसेका अवशेष नजिक नजान, तस्वीर नखिच्न र त्यस्ता दृश्य सार्वजनिक नगर्न पनि दूतावासले आग्रह गरेको छ।

यूएई सरकारले जारी गरेका सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न तथा आधिकारिक जानकारीका लागि सम्बन्धित सरकारी निकायका स्रोतहरू मात्र प्रयोग गर्न नेपाली समुदायलाई सुझाव दिइएको छ। अद्यावधिक सूचना प्राप्त गर्न दूतावासको आधिकारिक फेसबुक पेज नियमित हेर्न पनि आग्रह गरिएको छ।

दूतावासका अनुसार यूएईको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, दुबई र अबुधाबी मिडिया कार्यालय तथा इमिरेट्स न्युज एजेन्सीबाट जारी हुने आधिकारिक सूचनाबाट मात्र जानकारी लिनु उपयुक्त हुनेछ।

दूतावासले यूएईमा रहेका सबै नेपालीलाई सचेत, सुरक्षित र जिम्मेवार भएर बस्न अपिल गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको