October 20, 2026, Tuesday
KN hd tv

काठमाडौँसहित विभिन्न क्षेत्रमा वर्षा, प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले बाजुरा, बझाङ, डडेलधुरा, डोटी र अछाम लगायत सुदूरपश्चिमका जिल्लाहरूमा वर्षा भइरहेको छ। त्यस्तै पाल्पा, गुल्मी र अर्घाखाँचीसहितका केही पहाडी जिल्लामा पनि पानी परिरहेको छ ।

महाशाखाले वर्षा गराउने प्रणाली पूर्वतर्फ सरिरहेको जानकारी दिएको छ । उक्त प्रणाली गण्डकी प्रदेश हुँदै काठमाडौं उपत्यकातर्फ अघि बढ्ने अनुमान गरिएको छ ।

पछिल्लो एक घन्टामा गण्डकी प्रदेशको अत्रौलीटार क्षेत्रमा १६.२ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै रिभन केन्द्रमा ९ मिलिमिटर र तनहुँको सखरमा ६.८ मिलिमिटर वर्षा भएको छ। पर्साको ठोरी क्षेत्रमा पनि वर्षा भइरहेको छ, जहाँ ५.४ मिलिमिटर पानी परेको मापन गरिएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार पश्चिमबाट भित्रिएको न्यूनचापीय प्रणालीका कारण पश्चिम नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको हो। उनका अनुसार देशका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा र असिना पर्ने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणाली मंगलबारसम्म सक्रिय रहन सक्छ।

शीर्ष समाचार

धेरै पढिएको