October 17, 2026, Saturday
KN hd tv

खाडी क्षेत्रमा तनाव : युएईका तीन बन्दरगाह क्षेत्र खाली गर्न इरानको चेतावनी

काठमाडौँ : अमेरिका र इसराइलसँगको युद्ध तेस्रो सातामा प्रवेश गर्न लागिरहेका बेला इरानले खाडी क्षेत्रका केही संवेदनशील स्थानबारे चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार इरानले संयुक्त अरब इमिरेट्स (युएई) का तीन प्रमुख बन्दरगाह आसपासका क्षेत्र खाली गर्न आग्रह गरेको हो।

इरानले दुबईको जबेल अली बन्दरगाह, अबुधाबीस्थित खलिफा बन्दरगाह र फुजैराह बन्दरगाह आसपासका क्षेत्रबाट मानिसहरूलाई टाढा रहन चेतावनी दिएको बताइएको छ। युद्ध सुरु भएयता पहिलो पटक इरानले छिमेकी देशमा रहेका गैर–अमेरिकी सम्पत्तिसमेत जोखिममा पर्न सक्ने संकेत दिएको हो।

तेहरानले युएईका बन्दरगाह, डक र आश्रयस्थल प्रयोग गरेर अमेरिकाले इरानको प्रमुख तेल निर्यात टर्मिनल रहेको खार्ग टापुमा आक्रमण गरेको आरोप लगाएको छ। त्यसपछि इरानले अमेरिकी सेना रहेको भनिएका क्षेत्रबाट मानिसहरूलाई तत्काल बाहिरिन आग्रह गरेको हो।

चेतावनीपछि केही समयसम्म दुबईको जबेल अली बन्दरगाह र अबुधाबीको खलिफा बन्दरगाह क्षेत्रमा कुनै आक्रमण भएको संकेत देखिएको छैन। तर इरानी ड्रोन अवरोधका क्रममा खसेको भग्नावशेषका कारण फुजैराहस्थित तेल पूर्वाधार क्षेत्रमा आगलागी भएको खबर सार्वजनिक भएको छ।

यसबीच इरानका विदेशमन्त्री अब्बास अराघ्चीले एक अन्तर्वार्तामा अमेरिकाले युएईका रस अल खैमाह र दुबई नजिकको अर्को स्थानबाट खार्ग टापु तथा अबु मुसा टापुमा आक्रमण गरेको आरोप लगाएका छन्। उनले इरानले आवादी भएका क्षेत्रलाई निशाना नबनाउने गरी सावधानी अपनाउने बताएका छन्।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले भने इरानको उक्त दाबीबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

यता युएईका राष्ट्रपतिको कूटनीतिक सल्लाहकार अनवर गर्गाशले सामाजिक सञ्जालमार्फत आफ्नो देशलाई आत्मरक्षाको अधिकार भए पनि अहिले विवेक र संयमलाई प्राथमिकता दिइरहेको बताएका छन्।

युद्ध सुरु भएयता इरानले खाडी क्षेत्रतर्फ सयौँ मिसाइल र ड्रोन प्रहार गरेको बताइएको छ। ती प्रहार अमेरिकी सम्पत्तिलाई लक्षित रहेको इरानको दाबी छ। तर केही आक्रमण नागरिक पूर्वाधार, विमानस्थल तथा तेल क्षेत्र नजिक पनि पुगेको रिपोर्टहरूमा उल्लेख गरिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खार्ग टापुस्थित सैन्य संरचना ध्वस्त पारिएको दाबी गरेका थिए। उनले तेहरानले हर्मुज जलमार्ग हुँदै जहाज आवतजावतमा हस्तक्षेप जारी राखे तेल पूर्वाधार पनि निशानामा पर्न सक्ने चेतावनी दिएका थिए।

इरानको संयुक्त सैन्य कमाण्डले भने आफ्नो तेल पूर्वाधारमाथि थप आक्रमण भए क्षेत्रका अमेरिकी सम्बन्धित तेल, आर्थिक तथा ऊर्जा संरचनामाथि प्रतिआक्रमण हुन सक्ने चेतावनी दिएको छ।

शीर्ष समाचार

धेरै पढिएको