July 26, 2024, Friday
KN hd tv

पाटन विमानस्थलबाट २५ वर्षपछि हवाई उडान पुनः सुरु

बैतडी – पाटन विमानस्थलबाट २५ वर्षपछि हवाई उडान पुनः सुरु भएको छ।  शुक्रबारदेखि हवाई उडान सुरु भएको हो।

२०५२ सालदेखि बन्द रहेको सुदूरपश्चिमकै दोस्रो ठूलो विमानस्थलमा अबदेखि नियमित उडान हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए।।  समिट एयरले साताको एक दिन उडान भर्ने गरी नियमित रुपमा धनगढी–बैतडी–धनगढी सेवा दिने भएको छ। उनले भने, ‘पहिलो दिन धनगढीबाट १८ यात्रु बैतडी र बैतडीबाट सात यात्रु लिएर धनगढी फर्केको छ।’

पहिलो दिन शुक्रवार हवाई उडान गरिएको भए पनि अबदेखि हरेक मंगलबार नियमित उडान हुने समिट एयरका सुदूरपश्चिम म्यानेजर सरोज उप्रेतीले जानकारी दिए। उनले भने, ‘धनगढीबाट हरेक मंगलबार बिहान १० बजे बैतडीका लागि विमान उड्नेछ।’

धनगढीबाट बैतडीको भाडा तीन हजार ८०० रुपैयाँ तोकिएको छ। नियमित हवाई उडान भए पनि पाटन विमानस्थलमा टर्मिनल भवन तथा टावर नहुँदा समस्या हुने देखिएको छ। तत्कालका लागि पाटन नगरपालिकासँग समन्वय गरेर एकजना सम्पर्क व्यक्ति राखेर काम गरिएको छ।  अर्को सातादेखि आफ्नै जनशक्ति राखेर काम गरिने समिट एयरका सुदूरपश्चिम म्यानेजर उप्रेतीले बताए।

यसअघि असोज १७ गते पाटन विमानस्थलमा परीक्षण उडान गरिएको थियो। परीक्षण उडानसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहितको टोलीले विमानस्थलको निरीक्षण समेत गरेका थिए। 

पाटन विमानस्थल पुनः सञ्चालनमा आएपछि यहाँका बासिन्दामा उत्साह थपेको स्थानीय चमन भण्डारीले बताए। ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले ११ करोडमा विमानस्थल कालोपत्रको काम गत माघमा सम्पन्न गरेको थियो। विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको थियो। ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको हो।

२०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो।

शीर्ष समाचार

धेरै पढिएको