रतुवा–केशलिया सडकको ठेक्का तोडियो
काठमाडौं : हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ ।
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले ठेक्का तोडिएको सूचना प्रकाशित गरेको हो ।
६ किलोमिटर लामो उक्त सडक खण्ड निर्माणको जिम्मा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौंडाले लिएको थियो । दुई पटक म्याद थप गर्दा समेत सडकको प्रगति २५ प्रतिशतबाट अघि नबढेपछि आयोजना कार्यालयले ठेक्का तोडेको हो ।
सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक २०७६मा ८३ करोड ९९ लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो ।
सडक निर्माण २३ कात्तिक २०७९ भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब २५ प्रतिशत मात्र छ ।
उक्त सडक कुनै ठाउँमा ४ र कुनै ठाउँमा ६ लेनमा स्तरोन्नति गर्ने गरी ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताको म्याद दुई पटक थप गरिएको थियो । पछिल्लो पटक थप गरिएको ठेक्का सम्झौता गत जेठमा सकिएको थियो ।
पटक—पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल इटहरीका प्रमुख युवराज पोखरेलले बताए ।
ठेक्का सम्झौता रद्ध गरिएको निर्माण व्यवसायीको कार्य सम्पादन जमानत वापतको ४ करोड १९ लाख र पेश्की वापतको ९ करोड ६७ लाख रुपैयाँ जफतका लागि बैंकमा पत्रचार गरिसकिएको योजना प्रमुख पोखरेलले उल्लेख गरे । पेश्की रकममा १० प्रतिशत व्याजसहित असुल हुनेछ ।
यातायातमन्त्री कुलमान घिसिङको निर्देशनपछि जिर्ण आयोजनाको ठेक्का धमाधम तोडिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्