March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

जनप्रतिनिधि र कर्मचारीसहित १० जनामा कोरोना

पाल्पा – निस्दी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

अध्यक्ष मुक्तबहादुर सारु र प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्याल, लेखा अधिकृत, स्टोर प्रमुखसहितका कर्मचारी र भारतबाट घर फर्किएका मानिसमा कोरोना पुष्टि भएका हो। जनप्रतिनिधि, कर्मचारी र क्वारेण्टाइनमा बसेका गरी ५० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणको लागि पाल्पा अस्पतालमा सञ्चालित कोभिड १९ परीक्षण प्रयोगशालामा पठाइएको थियो।

उनीहरूमध्ये १० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशुवाले जानकारी दिए। उनका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरू आइसोलेसनमा बसिरहेका छन्। समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि गाउँपालिका सिल गरिएको छ। आगामी कात्तिक १ गतेसम्म सिल गरिएको दिशुवाले जानकारी दिए। अत्यवश्यक सेवाबाहेक सबै बन्द रहने प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले बताए।

शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, गैरसकारी संस्था, होटल तथा रेष्टुरेण्ट, निजी तथा सार्वजनिक सवारी साधनसमेत पूर्ण रुपमा बन्द गर्न गाउँपालिकाले आग्रह गरेको छ। शुक्रबार राति १२ बजेदेखि कात्तिक १ गते राती १२ बजेसम्म यो लागु हुनेछ। खाद्यन्न पसल भने विहान ६ बजेदेखि ८ बजेसम्म खुल्ने छन्।

तर‚ स्वास्थ्य मापदण्ड भने पालना गर्नुपर्ने छ। खाद्यन्न ढुवानी गर्न गाउँपालिकाको अनुमति लिनुपर्ने छ। एम्बुलेन्स मात्र चौबिसै घण्टा खुला रहने उनले बताए।

शीर्ष समाचार

धेरै पढिएको