October 15, 2026, Thursday
KN hd tv

नाटकमै फर्किए अभिनेता सरोज खनाल : ‘मञ्जिरा’ मा द्वन्द्वपीडितको कथा प्रस्तुत

काठमाडौं । नाटक र चलचित्रमा बराबर जमेको अभिनेता सरोज खनाल आठ वर्षपछि फेरि रङ्गमञ्चमा फर्किएका छन्। उनले पछिल्लो समय ‘मञ्जिराः द म्यूटेड मेलोडी’ नाटकमार्फत रंगमञ्चमा पुनः उपस्थित जनाएका हुन्।

३१ दिनको यात्रापछि अमेरिकाबाट फर्किएर अभिनय जीवनको सुरुवात गरेका खनालले करिब दुई महिना समय निकालेर नाटकमा फर्किनु आफूलाई अनुशासित राख्न जरुरी भएको बताएका छन्।

“चलचित्रमा सहायक भूमिकामा सीमित हुँदा अभिनयको गहिरो अभ्यास हुन पाउँदैन, तर रंगमञ्चमा आत्मा बस्न थाल्छ,” खनालले भने। उनले विगतमा पनि चलचित्रमै व्यस्त हुँदा रङ्गमञ्चबाट टाढिएको स्वीकार गर्दै अब भने वर्षमा कम्तीमा दुई नाटक खेल्ने योजना बनाएका छन्।

‘मञ्जिराः द म्यूटेड मेलोडी’ नाटक द्वन्द्वकालमा यौन हिंसाको शिकार भएकी सर्वसाधारण महिलाको पीडा र त्यसले मानसिक स्तरमा पारेको चोटको कथा हो। नाटकमा अधिवक्ता गोपालको भूमिकामा देखिएका खनालले उक्त भूमिकामा आफूलाई डुबाएको अनुभव सुनाए।

“द्वन्द्वको समयमा विदेशमा थिएँ, त्यस्ता पीडा प्रत्यक्ष देख्न पाइनँ, तर नाटकमा ती पीडालाई महसुस गर्न पाउँदा आँखा रसाउँछन्,” उनले बताए। नाटकमा सरस्वती चौधरी, सरिता गिरी, सशांक मैनाली, अनुप न्यौपानेलगायत कलाकारको पनि अभिनय छ।

अभिनेता खनालले नाटकले दर्शकको प्रत्यक्ष प्रतिक्रिया पाउने र आफूलाई नजिकबाट परीक्षण गर्ने माध्यम बनेको भन्दै यस्ता सिर्जनाले कलाकारितामा अनुशासन र जिम्मेवारी बढाउने बताए।

नाटक ‘मञ्जिरा’ असार ८ गतेसम्म मण्डला नाटकघरमा नियमित मञ्चन गरिएको थियो भने आउँदो केही ‘विकेन्ड’ मा बुक्ड शोहरू हुने नाटकघरले जनाएको छ। खनालका अनुसार चलचित्रभन्दा नाटकको मेहनत, अनुशासन र गहिरो भावनाले आफूलाई अझ समृद्ध बनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको