October 19, 2026, Monday
KN hd tv

सुगाले आगन्तुकलाई अपशब्द प्रयोग गरेपछि…

एजेन्सी- बेलायतको फ्रिस्कनीस्थित लिङ्कनशर वाइल्डलाइफ पार्कमा राखिएका सुगाले आगन्तुकलाई तथानाम भन्दै गाली गर्न थालेपछि त्यहाँबाट हटाइएको छ ।

पाँच वटा खैरा अफ्रिकन सुगाले अपशब्द प्रयोग गर्दै आगन्तुकलाई गाली गर्न थालेपछि उनीहरूलाई चिडियाखानाबाट हटाइएको बीबीसीले जनाएको छ।

गत अगस्टमा फ्रिस्कनीस्थित लिङ्कनशर वाइल्डलाइफ पार्कले ल्याएर ती खैरा अफ्रिकन सुगाले आगन्तुकलाई अपशब्दसहित गालिगलौज गर्न थालेपछि अन्यत्रै सारिएको पार्कका प्रमुख कार्यकारी स्टीभ निकोल्सले बताए ।

केही समय क्वारेन्टिनमा राखेर मुख्य पंक्षीशालामा सारिएपछि ती सुगाहरूले पखेटा फट्कार्दै आफूलाई मन लागेको भाषामा गाली गर्न थालेका थिए।

ती सुगाले गरेको गालीगलौजको भाषा अरू चराहरूले पनि सिक्न सक्ने तथा वालवालिका पार्कमा पुग्दा नराम्रो कुरा सिक्ने जोखिम बढेकाले उनीहरूले बोलेको सजिलै सुन्न नसकिने स्थानमा सारिएको छ।

ती अफ्रिकन सुगाहरूले मानिसलाई प्रतिक्रिया दिन बाध्य पार्ने गरी गाली गर्ने र त्यसबाट मानिसहरू तर्सिए वा हाँसे भने अझ त्यस्तै गर्न उनीहरू उत्साहित हुने गरेको पाइएको निकोल्सले बताए ।

उनीहरूलाई मुख्य पंक्षीशालाबाट सारिएपछि अरू २५० वटा चराले खराब शब्द सिक्ने जोखिम कम भएको ठानिएको उनले बताए ।

लिङ्कनशर वाइल्डलाइफ पार्क विभिन्न प्रतिक्रिया जनाउने चराका कारण बेलाबेलामा चर्चामा आउने गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको