October 17, 2026, Saturday
KN hd tv

पोखराबाट चीनको छेन्दु चार्टर्ड उडान सुरू, नियमित गर्न चुनौती

सिचुवान एयरलाइन्सले पोखराबाट चीनको छेन्दु चार्टर्ड उडान गर्ने भएको छ। पोखराका मेयर धनराज आचार्यका अनुसार चैत ५ गतेदेखि सातामा एक उडानका दरले १० वटा उडान सञ्चालन हुनेछन्।

‘पोखराबाट छेन्दु नियमित उडानको तयारी भइरहेको छ। चैत ५ गतेदेखि कमर्सियल चार्टर्ड फ्लाइट हुँदैछ,’ उनले भने, ‘हाल १० वटा उडानको तयारी पूरा भइसकेको छ, तर नियमित उडान गर्न चुनौती छ।’

चीनको सरकारी ट्राभल एजेन्सीमार्फत सिचुवान एयरलाइन्सबाट १,२५० जना यात्रु पोखरा आउने पक्का भइसकेको छ। पोखराबाट फर्किने क्रममा कम्तीमा तीन उडानमा पोखराका व्यवसायीले सहभागिता जनाउने पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले जानकारी दिए।

‘पोखराका पर्यटन व्यवसायी छेन्दु जाने र पोखराको प्रवर्द्धन गर्ने तयारीमा छन्,’ उनले भने, ‘तीन उडानमा यहाँका व्यवसायी जानेछन्।’

मेयर आचार्यका अनुसार पोखराबाट छेन्दु जाने सात रात, आठ दिनको टुर प्याकेज बनाइएको छ, जसको मूल्य १ लाख २३ हजार रुपैयाँ तोकिएको छ। यसमा छेन्दुमा बसोबास, खानपान, भ्रमण सबै समावेश छ। टिकट मात्र चाहनेका लागि मूल्य ६२ देखि ६५ हजार रुपैयाँ पर्नेछ।

उक्त प्याकेजमा सिचुवानका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण तथा नेपाल आउने चिनियाँ पर्यटकका लागि पोखरा, चितवन र काठमाडौंको भ्रमण योजना पनि समावेश छ।

पोखरा-सिचुवानबीच नियमित उडान आवश्यक रहेको भन्दै मेयर आचार्यले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चुनौती छ, तर चार्टर्ड उडानहरूलाई नियमित उडानमा परिणत गर्न सकिने विश्वास छ।’

पहिलो उडानमा मेयर आचार्यको नेतृत्वमा जनप्रतिनिधि र पर्यटन व्यवसायी सहभागी हुनेछन्। दोस्रो उडानमा पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिहरू र तेस्रोमा सामाजिक संघसंस्थाका व्यक्तिहरू जानेछन्।

यसबाहेक, चीन फर्किने जहाजमा नेपाली उत्पादन निर्यात गर्ने सम्भावना समेत खोजिएको छ। पोखराबाट छेन्दु नियमित उडानका लागि पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद, चाइनिज ओभरसिज एसोसिएसन लगायत संस्थाहरूले सहकार्य गरिरहेका छन्।

यसैबीच, हिमालय एयरलाइन्सले चैत १८ गतेदेखि पोखराबाट चीनको ल्हासा नियमित उडान गर्ने तयारी गरिरहेको छ।

शीर्ष समाचार

धेरै पढिएको