नेपाली सेनाको समर्पण प्रशंसनीय: बेलायती सेना प्रमुख
बेलायत । बेलायती सेना प्रमुख जनरल सर रोली वाकरले नेपाली सेनाको समर्पण, निष्ठा र व्यावसायिकताको खुलेर प्रशंसा गरेका छन्।
लण्डनस्थित नेपाली दूतावासले नेपाली सेनाको २६२औं स्थापना दिवसका अवसरमा आयोजना गरेको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका जनरल वाकरले नेपाली सेनाको योगदान प्रति सम्मान व्यक्त गरे। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनदेखि विभिन्न सेवामा नेपाली सेनाले देखाएको उच्चस्तरीय कार्यक्षमताको उनले मुक्तकण्ठले प्रशंसा गरे।
उनले भविष्यमा बेलायती सेनाले नेपाली सेनासँग थप सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै ब्रिगेड अफ गोर्खाजको योगदानबारे पनि विशेष रूपमा चर्चा गरे।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. चन्द्रकुमार घिमिरेले नेपाली सेनाको गौरवशाली इतिहास र राष्ट्रिय सुरक्षामा यसको योगदान उल्लेखनीय रहेको बताए। उनले नेपाल-ब्रिटेन सम्बन्ध आपसी सहमति, सहकार्य र भाइचारामा आधारित रहेको उल्लेख गरे।
दूतावासका सैनिक सहचारी कर्णेल अनुप शाहले नेपाली सेनाको बलिदान, शान्ति स्थापनामा योगदान, प्राकृतिक प्रकोपमा मानवीय सहायता लगायत विषयमा प्रकाश पार्दै श्रव्यदृश्य प्रस्तुति दिएका थिए।

प्रतिकृया दिनुहोस्