दुर्लभ खगोलीय घटना, ६ ग्रह एकसाथ आकाशमा देखिने
काठमाडौं। सौर्यमण्डलका ८ ग्रहमध्ये ६ वटा ग्रह आज पृथ्वीको आकाशमा एकसाथ देखिएका छन्। सूर्यलाई परिक्रमा गर्ने यी ग्रहहरूले आ-आफ्ना कक्षअनुसार घुमिरहेका भए पनि यसपटक दुर्लभ संयोगले एउटै भागमा पंक्तिबद्ध भएर देखिएका हुन्।
यसलाई दुर्लभ खगोलीय घटना मानिएको छ। बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले यस अवसरमा कीर्तिपुरमा विशेष कार्यक्रम आयोजना गर्दै ग्रहहरूलाई सर्वसाधारण र विद्यार्थीहरूका लागि प्रेक्षणयोग्य बनाएको छ।
समितिका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार सामान्यत: एक वा दुई ग्रह मात्रै आकाशमा देखिने भए पनि यसपटक ६ ग्रह एउटै भागमा लाइनअप भएर देखिएका छन्।
दुर्लभ घटना
डा. शर्माले यस्तो दुर्लभ घटना धेरै कम देखिने बताए। उनका अनुसार, केही वर्षमा दुई वा चार ग्रह मात्रै एकसाथ देखिने गरेका थिए। तर, यसपटक ६ ग्रह एकसाथ देखिनु खगोल विज्ञानमा महत्त्वपूर्ण घटना हो।
ग्रहहरूको परेड र त्यसको असर
ग्रहहरूको यस परेडले कुनै प्रकारको स्वास्थ्य वा पृथ्वीमा असर नगर्ने वैज्ञानिक तथ्य रहेको डा. शर्माले स्पष्ट पारे। उनले भने, “धार्मिक वा ज्योतिषीय मान्यताका कारण विभिन्न अन्धविश्वास हुन सक्छन्, तर विज्ञानले यस्ता घटनालाई प्राकृतिक र सामान्य ठान्छ।”
वैज्ञानिक चेतनाका लागि अवसर
समितिले यो कार्यक्रमको उद्देश्य जनमानसमा वैज्ञानिक चेतना फैलाउनु रहेको बताएको छ। “ग्रहहरूको प्रेक्षणले विद्यार्थीहरूलाई रोमाञ्चक अनुभव प्रदान गर्नुका साथै अध्ययन र अनुसन्धानप्रति प्रेरित गर्ने हाम्रो उद्देश्य हो,” डा. शर्माले भने।
ग्रहहरूको प्रेक्षण र अवधि
कीर्तिपुरमा आयोजना गरिएको कार्यक्रममार्फत बुध, शुक्र, वृहस्पति, र शनि जस्ता चम्किला ग्रहहरू प्रष्ट देख्न सकिन्छ। अरूण र वरुण भने सूर्यबाट टाढा रहेकाले हल्का मधुरो देखिने र खाली आँखाले नदेखिने उनले जानकारी दिए। यी ग्रहहरू फागुनको तेस्रो सातासम्म देखिने र त्यसपछि आफ्नो कक्षअनुसार टाढिँदै जाने छन्।
यस दुर्लभ खगोलीय घटनालाई प्रत्यक्ष अवलोकन गर्न आजको दिन विशेष महत्त्वपूर्ण रहेको खगोल विज्ञानका विज्ञहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्