October 20, 2026, Tuesday
KN hd tv

अमेरिका र कोलम्बियाबीच व्यापारिक तनाव: ट्रम्पले २५ प्रतिशत आयात कर घोषणा

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। अमेरिकामा रहेका अवैध कोलम्बियन आप्रवासीलाई फिर्ता लिन कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अस्वीकार गरेपछि ट्रम्पले यस्तो कदम चालेका हुन्।

ट्रम्पले एक साताभित्र यो कर दर बढाएर ५० प्रतिशत पुर्‍याउने चेतावनी पनि दिएका छन्। अमेरिकी सेनाको विमानले अवैध कोलम्बियन आप्रवासीहरूलाई लिएर कोलम्बिया अवतरण गर्न खोज्दा रोक लगाएपछि ट्रम्पले यस्तो कडा निर्णय गरेका हुन्।

जवाफमा, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले पनि अमेरिकाबाट आयात हुने सामग्रीमा २५ प्रतिशत कर लगाउन निर्देशन दिएका छन्। पेट्रोले एक्समार्फत ट्रम्पलाई “कोलम्बियाले पनि आयातमा तपाईंकै नीति अनुसरण गरेको छ” भन्दै प्रतिक्रिया दिएका छन्। उनले अमेरिकाबाट आयात हुने वस्तुमा कर दर ५० प्रतिशत पुर्‍याउने धम्की समेत दिएका छन्।

ट्रम्पले यसप्रति प्रतिक्रिया दिँदै कोलम्बिया विरुद्ध बैंकिङ र वित्तीय प्रतिबन्ध लगाउने, कोलम्बियाका सरकारी अधिकारीहरूको भिसा रद्द गर्ने र आफ्ना नागरिकहरूलाई कोलम्बियामा यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

गुस्ताभोले ट्रम्पलाई “तपाईंलाई हाम्रो स्वतन्त्रता मन परेको छैन। हामी पनि गोरा दासहरूसँग हात मिलाउने छैनौं,” भन्दै कडा अभिव्यक्ति दिएका छन्।

ट्रम्पले शपथ ग्रहणपछि अवैध आप्रवासीहरूलाई फिर्ता पठाउने प्रक्रिया तीव्र गर्ने बताएका थिए। सोहीअनुसार आइतबार कोलम्बियाबाट अमेरिकी सेनाको विमानले आप्रवासी ल्याउन खोज्दा, कोलम्बियाले सैनिक विमानमा ल्याउन अस्वीकार गर्दै नागरिक विमानमा मात्र फिर्ता लिन सकिने बताएको थियो।

कोलम्बिया अमेरिकाको तेस्रो ठूलो व्यापारिक साझेदार हो। यो तनावले दुई देशबीचको व्यापारिक सम्बन्ध र ट्रम्पको आप्रवासी फिर्ता गर्ने निर्णयलाई थप जटिल बनाएको विश्लेषकहरूले बताएका छन्।

शीर्ष समाचार

धेरै पढिएको