October 21, 2026, Wednesday
KN hd tv

तीन वर्षमा ४० लाखभन्दा बढी ई–पासपोर्ट जारी

काठमाडौं । राहदानी विभागले पछिल्लो तीन वर्षको अवधिमा ४० लाख ३१ हजार ई–पासपोर्ट जारी गरेको छ। विभागले २०७८ मंसिर १ गतेबाट ई–पासपोर्ट जारी गर्न थालेको हो।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार, हालसम्म खरिद गरिएका ५१ लाख ई–पासपोर्टमध्ये ४० लाख ३१ हजार जारी भइसकेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि अहिलेसम्म पाँच लाख ४७ हजार ३९१ ई–पासपोर्ट जारी गरिएको छ।

“हामीसँग साढे १० लाख ई–पासपोर्ट मात्र बाँकी छन्, जसले ८–१० महिनासम्म मात्रै पर्याप्त हुनेछ,” महानिर्देशक अर्यालले बताए। उनले उक्त समयावधिभित्र नयाँ पासपोर्ट खरिद प्रक्रिया सम्पन्न हुने विश्वास व्यक्त गरे।

विभागले आगामी पाँच वर्षभित्र ६४ लाख ई–पासपोर्ट छपाइ गर्ने लक्ष्यसहित टेन्डर प्रक्रिया अघि बढाएको छ। अर्थ मन्त्रालयले यसका लागि १२ अर्ब रुपैयाँको बजेट सहमति प्रदान गरिसकेको छ।

पछिल्ला वर्षहरूमा विभागले मासिक औसतमा एक लाखभन्दा बढी पासपोर्ट जारी गर्दै आएको छ। आर्थिक वर्ष २०८०/८१ मा १४ लाख ७३ हजार ३२५ थान र अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १४ लाख ७१ हजार २६४ थान ई–पासपोर्ट जारी गरिएको थियो।

नेपालले २०६७ मंसिर १० गतेदेखि हस्तलिखित पासपोर्ट बन्द गरी मेसिनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) जारी गर्न सुरु गरेको थियो। त्यसपछि, २०७८ मंसिर १ गतेबाट ई–पासपोर्टको वितरण सुरु गरिएको हो।

बितेको साढे १४ वर्षमा विभागले एक करोड १० लाख ४५ हजार ६१७ पासपोर्ट जारी गरेको छ। यो संख्या राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत जारी गरिएका पासपोर्टको हो।

शीर्ष समाचार

धेरै पढिएको