December 5, 2023, Tuesday
२०८० मंसिर १९, मंगलवार
KN hd tv

दसैंमा घर जाने यात्रुको व्यवस्थापन कसरी ?

काठमाडौं-कोरोना भाइरसको संक्रमण दर दिनदिनै बढिरहेको छ। लकडाउन खुलेपछि संक्रमण बढेको भन्दै उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको थियो। क्रमिक रुपमा निषेधाज्ञा हट्दै गएको छ। अबको एक महिनापछि दसैं आउँदैछ। दसैंमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा रहेका मानिसहरु आफ्नो जन्मघर जाने गर्छन्। 

कोरोना संक्रमण बढिरहेकै अवस्थामा आउँदै गरेको दसैंमा यात्रुहरुलाई सहज र व्यवस्थित रुपमा गन्तव्यमा पुर्‍याउन पहल नगर्ने हो भने स्थिति जटिल बन्न सक्छ। काठमाडौं उपत्यकामा संक्रमण बढिरहेकाले यहाँबाट गाउँ जाँदा संक्रमणसमेत गाउँ जाने र गाउँबाट काठमाडौं आउँदा संक्रमण आउने सम्भावना ज्यादै धेरै हुन्छ।

सरकारले संक्रमण जोखिम नहोस् भनेर हालसम्म लामो तथा मध्यम दूरीका सार्वजनिक यात्रुबाहक बस सञ्चालनको अनुमति दिएको छैन। जिल्लाभित्र भने जोर-बिजोर प्रणालीमा सिट क्षमताभन्दा आधामात्र यात्रु राखेर स्वास्थ्य मापदण्ड पुरा गरी चलाउन दिएको छ। २०७६ चैत ११ देखि बन्द लामो तथा मध्यम दूरीका बस हालसम्म चल्न पाएका छैनन्। 

यातायात व्यवसायीहरुले सरकारले तोकेको मिति असोज १ देखि लामो तथा मध्यम दूरीका बस चलाउन अनुमति नदिए स्वतस्फुर्त रुपमा चलाउने घोषणा गरिसकेका छन्। व्यवसायीले सरकारलाई यातायात क्षेत्रका स्वरोजगार, मजदूर तथा लगानीकर्ताहरुको चुल्हो बल्न नसकेकाले चलाउने वातावरण बनाउन आग्रह गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए। 

‘हामीले सरकारलाई असोज १ देखि लामो तथा मध्यम दूरीका बस चलाउने व्यवस्था मिलाउन आग्रह गरेका हौं,’ उनले भने, ‘सरकारले बस चलाउन रोकि नै रह्यो भने मजदूर साथीहरु स्वतस्फूर्त रुपमा गाडी चलाउन सक्ने अवस्था आएको अवगत गराएका छौं।’ दसैंमा बस कसरी चलाउने भन्नेबारे अहिले नै सोच्ने अवस्था नआएको उनले बताए। सरकारले अहिलेसम्म सवारी चलाउन दिने निर्णय नै नगरेको र बस मर्मतलगायत धेरै विषय बाँकी रहेकाले सरकारको निर्णयपछि मात्र भन्न सकिने कर्माचार्यले बताए। 

यता यातायात व्यवस्था विभागले भने लामो दूरीका सार्वजनिक बस सञ्चालनको विषयमा सरोकारवालासँग छलफल गरिरहेको महानिर्देशक गोगनबहादुर हमालले बताए। लामो तथा मध्यम दूरीका सार्वजनिक बस चलाउने वा नचलाउने भन्ने विषयको निर्णय मन्त्रिपरिषद्ले गर्ने भए पनि बस सञ्चालन कसरी गर्ने र त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर तयारी गरिरहेको उनको भनाइ छ। 

‘लामो दूरीका बस सञ्चालनकै तयारी भइरहेको छ। यस विषयमा सरकारले नै निर्णय गर्ने कुरा भयो,’ उनले भने, ‘दसैंमा काठमाडौंलगायत सहरी क्षेत्रबाट गाउँ जाने यात्रुको व्यवस्थापनका लागि के गर्न सकिन्छ, कसरी सुरक्षित रुपमा यात्रुलाई गन्तव्य पुर्‍याउन सकिन्छ भनेर विभाग जुटिसकेको छ।’ ढिलो चाँडो अब लामो तथा मध्यम दूरीका यात्रुबाहक बस सञ्चालन गर्नुपर्छ भन्नेबारे विभागले मन्त्रालयलाई भन्दै आएको उनले बताए। 

असोज १ देखि व्यवसायीहरुले लामो तथा मध्यम दूरीका बस चलाउन दिन माग गरेअनुसार दिने हो भने दसैंमा हुने यात्रुको भीड कम हुन सक्ने आँकलन छ। एकैपटक दसैंको मुखमै बस सञ्चालन गर्न दिँदा भीड बढ्ने हमालको भनाइ छ।

यो वर्षको दसैंमा विगतमा जस्तो यात्रुको चाप धेरै नहुने भए पनि स्वास्थ्य मापदण्ड लागू गरेर हाल उपत्यकामा सञ्चालित छोटो दूरीका बसजस्तै गरी आधामात्र यात्रु राख्ने हो भने भीड बढ्ने निश्चित छ। त्यसैले सरकारले लामो दूरीका सार्वजनिक बस चलाउने विषयमा छिट्टै निर्णय गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ। 

बससँगै हवाई जहाज र निजी सवारीको प्रयोग गरेर समेत यात्रुहरु आफ्नो गन्तव्यमा पुग्नेछन्। सरकारले आन्तरिक उडानसमेत खुल्ला गर्ने तयारी गरेको छ।nepallive

शीर्ष समाचार

धेरै पढिएको