July 18, 2024, Thursday
KN hd tv

अतिरिक्त कामको भत्ता माग्दै संसद्का कर्मचारीले घेरे महासचिवको कार्यकक्ष

काठमाण्डु – अतिरिक्त कामको भत्ता माग्दै संघीय संसद्का कर्मचारीहरूले महासचिवको कार्यकक्ष घेर्दै डेढ घण्टा धर्ना दिएका छन् ।

संसद्का गत जेठ २९ गतेदेखि सभामुखलाई अतिरिक्त कामका लागि भत्तासहितका ११ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएर संघीय संसद् कर्मचारी युनियनको अगुवाइमा आन्दोलन थालेका थिए । कोरोना सुरु भएदेखि संघीय संसद्ले अतिरिक्त समय काम गरेबापत दिँदै आएको भत्ता समेत रोकिएको थियो । आगामी आर्थिक वर्षमा समेत त्यसका लागि बजेट सुनिश्चितता नभएपछि आन्दोलन गर्नुपरेको कर्मचारीहरूले बताएका छन् ।

कर्मचारीले जेठ ३० र ३१ गते कालोपट्टी बाँधेर काम गरेका थिए । असार २ गतेबाट धर्ना थालेका कर्मचारीहरूले मंगलबार डेढ घण्टा धर्ना दिए । संघीय संसद् कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेलबासेले भने, ‘कोरोनाको समयदेखि हामीले अतिरिक्त कामका लागि पाउँदै आएको भत्ता कटौती भएको छ । तर, अतिरिक्त समय काम भने गरिहनुपरेको छ । बिहान ८ बजे नै समितिका बैठक हुन्छन्, साँझ ८ बजेसम्म सदनका बैठक चल्छन् । हामीले यसबापत कुनै सेवा सुविधा पाएका छैनौँ ।’

उनले हामीले देश आर्थिक रूपमा अप्ठेरो परेका बेला तलब नबढाएकोमा गुनासो नगरेको भन्दै अतिरिक्त काम गरेबापतको सुविधा भने दिनुपर्ने बताए । गत वर्ष वैशाख १३ मै माग पत्र बुझाएका कर्मचारीका विषयमा तत्कालीन महासचिव डा. भरतराज गौतमले भत्ता दिने निर्णय गरेर सिफारिस गरेका थिए ।

महासचिवको सिफारिस अनुरुप सभामुख नेतृत्वको संघीय संसद् सचिवालय व्यवस्थापन समितिले समेत अतिरिक्त कामका लागि भत्ता दिनेसहितका निर्णय गरेको थियो । तर, अहिलेसम्म सभामुख र राष्ट्रियसभाका अध्यक्ष रहेको समितिको निर्णय नै कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिनुपरेको बेलबासेले बताए ।

शीर्ष समाचार

धेरै पढिएको