जनतामा फैलँदै गएको निराशा तोड्न ‘संकल्प यात्रा’ सफल : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा नागरिकमा आशा जगाउन सफल भएको दावी गरेका छन् । अभियानको क्रममा नागरिकमा सोचे भन्दाबढी उत्साह देखिएको पोखरेलले बताएका छन् । भविष्यप्रतिको आशा जगाउने कुरामा यात्रा सफल भएको उनको भनाइ छ ।
समाजलाई वस्तुगत आधारमा आशावादी बनाउनु पर्नेमा उनले जोड दिए । ‘नेपालको राजनीतिप्रति चासो राख्ने हरेक नागरिकले यो यात्रालाई सफल र सार्थक यात्राका रूपमा चित्रण गरेका छन्, जनतामा फैलँदै गएको निराशा तोड्ने कुरामा यो यात्रा अभूतपूर्व रूपमा सफल रह्यो’, महासचिव पोखरेलले भने ।
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको एमाले अध्यक्ष केपी आलीप्रतिको आकर्षण अभूतपूर्व पाइएको उनले बताए । फरक बिचार राख्ने अभिभावकका बालबालिका समेत ओलीलाई हेर्न र भेट्न यात्रामा सामेल भएको उनले सुनाए । कथित बौद्धिक जमातले नेतृत्वको आलोचना गर्ने गरेको भए पनि जनताको हेर्ने दृष्टिकोण भने फरक भएको कुरा यात्राको क्रममा प्रमाणित भएको पोखरेलले बताए ।
नागरिकको उत्साहजनक सहभागिताको कारण निर्धारण गरे भन्दा धेरै ठाउँमा कार्यक्रम गर्नुपरेको उनले बताए । नागरिक सडकमा आएपछि उनीहरूलाई उपेक्षा गरेर अघि बढ्न नसकिने भएको कारण यात्राको समय लम्बिएको पोखरेलको भनाइ छ । यो यात्रा ठिक समयमा गरिएको ठिक निर्णय भएको प्रमाणित भएको उनको विश्लेषण छ ।
नेपाली जनताले संघर्ष गरेर पराजित गरेको राजतन्त्रलाई समेत ब्युँझाउने, देशमा अराजकता मच्चाउने, सामाजिक सद्भाव भड्काउने खालका गतिविधि सुरु भएको बेला एमालेले सञ्चालन गरेको अभियानले सबै शक्तिलाई परास्त गरेको महासचिव पोखरेलले दाबी गरे । ‘जनताको अजेय शक्तिलाई एक पटक पुष्टि गरेको छ, लोकतन्त्र नै जनतालाई सर्वशक्तिमान् बनाउने माध्यम हो भन्ने कुरालाई यसले पुनः पुष्टि गरेको छ, त्यस अर्थमा यसले मुलुकको विकास र समृद्धिको आधार तयार गरेको छ’, उनले भने ।
पूर्वाधार विकास र पहाडको बसाइसराइ कसरी रोक्न सकिन्छ भन्ने अध्ययन गर्नु यात्राको मुख्य उद्देश्य रहेको पोखरेलले बताए । ‘मध्यपहाडी क्षेत्र भविष्यको विकास र समृद्धिको आधारशिला हो भन्ने कुरालाई उजागर गर्न हामीले सफलता प्राप्त गरेका छौँ, भविष्यको विकासको आधारशिला हामीले मध्यपहाडी राजमार्गलाई बनाउन सक्दछौँ’, उनले भने ।
मध्यपहाडका सबै जिल्लामा सुन्तलाको खेतीको प्रचुर सम्भावना रहेको उनले बताए । हरेक ठाउँको सुन्तलाको फरक फरक स्वाद रहेको पनि उनले सुनाए । सुन्तलाका पारखीको लागि मंसिर पुसमा मध्यपहाडी लोकमार्गको यात्रा निक्कै महत्पूर्ण हुने उनले बताए । ‘पहाड र हिमाली क्षेत्र फलफूलको उर्वरा भूमि हुन्, फलफूले खेतीका माध्यमबाट पहाडी क्षेत्रको जीवन परिवर्तन गर्न सकिन्छ भन्ने कुरा यो यात्राका क्रममा प्रमाणित भएको छ’, उनले भने ।
यात्राले स्थानीय मौलिक संस्कृतिलाई राष्ट्रियकरण गर्ने काम पनि गरेको उनले बताए । मध्यपहाड मौलिक संस्कृतिको खजाना रहेछ भन्ने कुरा पनि प्रमाणित भएको पोखरेलको भनाइ छ । संस्कृतिका हिसाबले पनि मध्यपहाड विशिष्ट क्षेत्र रहेछ भन्ने कुरा अनुभूत गर्न सकिने उनको भनाइ छ । ‘नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक समाज भित्र हामीले एकता निर्माण गर्ने आधार खोजी रहेका थियौँ, त्यो आधार प्राप्त भएको छ’, उनले भने ।
पहाडी क्षेत्रको जीवनमा परिवर्तन आउँदै छ भन्ने कुरा पनि यात्राको क्रममा देखिएको उनले बताए । पहाडमा पनि व्यावसायिक उत्पादन सुरु भएको बताउँदै महासचिव पोखरेलले अझै पनि परम्परागत उत्पादनलाई व्यावसायिकीकरण गर्नुपर्नेमा जोड दिए ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्