भारतसँग नेपालको लज्जास्पद हार : एशिया कपको यात्रा समाप्त
काठमाडौं । एसीसी यू–१९ एशिया कपमा नेपाल भारतसँग लज्जास्पद हार व्यहोर्दै समूह चरणबाटै बाहिरिएको छ ।
आज (मंगलबार) भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । समूह ‘ए’ रहेको नेपालले तीन खेल खेलेको थियो । नेपाल तीन खेलमा पराजित भयो ।
जितको लागि ५३ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७ ओभर एक बलमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । आर्शिन अतुल कुलकर्णी ३० बलमा १ चौका र ५ छक्कासहित ४३ रनमा अविजित रहे । आदर्श सिंह १३ बलमा २ चौकासहित १३ रनमा नट आउट रहे । नेपालका कुनैपनि बलरले विकेट लिन सकेनन् ।
त्यसअघि आईसीसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२ अभोर १ बलमा ५२ रनमा अल आउट भएको थियो । नेपाललाई सस्तैमा अल आउट गर्न भारतका तीव्र गतिका बलर राज लिम्बानीले सर्वाधिक ७ विकेट लिएका थिए । नेपालका कुनैपनि खेलाडीले १० रन बनाउन सकेनन् । नेपालका लागि हेमन्त धामीले १८ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाएका थिए ।
नेपालले भारतीय तीव्र गतिका बलर सामु रन जोड्न सुरुवात देखि नै संघर्ष गरेको थियो । सिनियर टोलीबाट खेली सकेका दुई प्रमुख ब्याटर देव खनाल २ र गुलशन झा ४ रनमा आउट भए । अर्जुन कुमाल ७ रन, दीपक बोहरा १, उत्तम थापामगर डक, दीपक प्रसाद डु्रमे गोल्डेन डक, दीपक बोहरा ७, दीपेश कँडेल ४, सुवास भण्डारी २ र आकाश चन्दले ४ रन बनाएका थिए । नेपालले लगातार दोस्रो पटक यू–१९ एसिया कपमा जित विहीन हुँदै बाहिरिएको हो । २०२१ मा पनि नेपाल जीतविहीन हुँदै बाहिरिएको थियो ।

प्रतिकृया दिनुहोस्