July 24, 2024, Wednesday
KN hd tv

एमालेको संकल्प यात्रा कोशी प्रवेश : अवरोध नपुर्‍याउन पहिचानवादीलाई आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपिल गरेको छ ।
आज (मंगलबार) बाट कोशी प्रदेश प्रवेश गर्न लागेको संकल्पयात्रामा पहिचानवादीहरूले अवरोध गर्ने चेतावनी दिइरहेका बेला एमालेले यात्रामा अवरोध नगर्न पहिचान पक्षधरलगायत सबैलाई अपिल गरेको हो ।

‘एमालेको संकल्प यात्रा घुर्मी भएर कोशी प्रदेश प्रवेश गर्दैछ । यसक्रममा केही समूहहरू द्वारा हाम्रो अभियानलाई अवरोध गर्ने गरी सडक बन्द, प्रदेश बन्द लगायतका बन्द र अवरोधका कार्यक्रमहरू सार्वजनिक गर्ने भन्ने सुनिन आएको छ । त्यसका निम्ति पार्टीका तर्फबाट औपचारिकरूपमा सबै समूहहरू, पहिचानवादी समूहलगायतका सबैलाई अभियानलाई अवरोध नगर्न बन्द नगर्न, अभियानमा सहयोग पुर्‍याउनका निम्ति अपिल गर्न चाहन्छु,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

नेकपा एमालेको अभियान विकास र समृद्धिको अभियान भएकाले यस्ता अभियानमा अवरोध सिर्जना नगर्न र अभियानमा सहयोग पुर्‍याउन गौतमको आग्रह छ । कोशी प्रदेश नामकरणमा एमालेसहित नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएकाले आफ्नो पार्टीलाई मात्र निशाना बनाई गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने उनले बताए ।
एमालेको यात्राको विरोधमा खोटाङ बन्द, रुख ढालेर सडक अवरुद्ध
एमालेको मध्यपहाडी लोकमार्ग यात्राको प्रतिरोधमा पहिचान पक्षधरले खोटाङ बन्द गराएका छन् भने ठाउँ–ठाउँमा रुख ढालेर सडक अवरुद्ध पारेका छन् । पहिचान पक्षधर समूहले आह्वान गरेको बन्दका कारण खोटाङमा मंगलबार बिहानैदेखि यातायात ठप्प भएको छ । नेकपा (एमाले) ले सञ्चाल गरिरहेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को प्रतिरोधमा पहिचान पक्षधर समूहले मंगलबारदेखि अनिश्चितकालिन यातायात बन्द आह्वान गरेको हो ।

समृद्धिका लागि संकल्प यात्रा अन्तरगत एमालेले आज घुर्मीमा बृहत जनसभा गर्ने तयारी गरेको छ । त्यसकै विरोधमा प्रदेश नम्बर १ पुःन नामांकन संयुक्त संघर्ष समितिले मध्यपहाडी राजमार्ग अन्तर्गत घुर्मी (उदयपुर–लेगुवाघाट–धनकुटा) सडक बन्द गरेको हो। बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीका सार्वजनिक सवारी साधन नचलेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । कोशी प्रदेशको नामांकनको विषयमा विमति राख्दै आन्दोलनरत पहिचान पक्षधर समूहले गए राति खोटाङको दिक्तेल–जयराम सडकको विभिन्न ठाउँमा रुख ढालेर र ढुंगा राखेर सडकमा अवरोध गरेका छन् ।

सडकमा गरिएको अवरोध पन्छाइसकिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । ‘रुख काटेर लडाएर सडक अवरोध गरिएको रहेछ । बिहानै क्लियर गरिसकेका छौं’, खड्काले भने । पहिचान पक्षधरको बन्दका कारण जनजीवन प्रभावित भएको छ । सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् । बन्दलाई ध्यानमा राखेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको