October 22, 2026, Thursday
KN hd tv

इन्डोनेसियाको समुद्री तटमा झण्डै दुई सय जना रोहिङ्ग्या शरणार्थी अलपत्र

इन्डोनेसियाको पश्चिमी क्षेत्रमा रहेको एक समुद्री तटमा झण्डै दुई सय जना रोहिङ्ग्या शरणार्थी अलपत्र परेका छन् । म्यानमारका अल्पसङ्ख्यक रोहिङ्ग्या समुदाय ठूलो सङ्ख्यामा बङ्लादेशमा रहेका र तीमध्ये उनीहरु इन्डोनेसियाको समुद्री तटमा अलपत्र परेका हुन् ।

सन् २०१७ मा म्यानमारको सेनाले गरेको कारबाहीको मुख्य निशानामा मुस्लिम रोहिङ्ग्या समुदाय परेका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । झण्डै १० लाख मानिस भागेर बङ्लादेश पुगेका छन् र त्यहाँबाट हरेक वर्ष हजारौंले आफ्नो ज्यान जोखिममा राखेर मलेसिया वा इन्डोनेसिया पुग्न लामो र महँगो समुद्री यात्रा गर्छन् ।

शरणार्थीहरू समुद्र तटमा भेला भएका र केही महिला आफ्ना बच्चालाई काखमा बोकेको अवस्थामा देखिएका भिडियो स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले स्थानीय समुदायको हितलाई प्राथमिकतामा राखेर शरणार्थीका लागि पनि अस्थायी राहत उपलब्ध गराइने बताउनुभएको छ । उहाँले आफ्नो देश भित्रने रोहिङ्ग्या शरणार्थीको बढ्दो सङ्ख्याका पछाडि मानव बेचबिखनमा संलग्न सञ्जालको हात रहेको र दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

इन्डोनेसियाले संयुक्त राष्ट्रसङ्घीय शरणार्थी महासन्धिमा हस्ताक्षर गरेको छैन र म्यानमारबाट शरणार्थी ल्याउन बाध्य नहुने पनि बताएको छ । छिमेकी देशमा आश्रय नपाउँदा अल्पसङ्ख्यक शरणार्थी समूह जोखिम मोलेर टाढा टाढा पुग्नुपर्ने र गुजारा चलाउनु पर्ने बाध्यता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको