October 17, 2026, Saturday
KN hd tv

चिनियाँ सेनाका दुई जहाज भूकम्पपीडितका लागि राहत लिएर आइपुगे पोखरा

पोखरा । जाजरकोट भूकम्पपीडितलाई राहत लिएर चिनियाँ जनमुक्ति सेनाका दुई जहाज पोखरा विमानस्थल ओर्लिएका छन् । जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि एक लाख ७९ हजार किलो राहत सामग्री बोकेर वाई–२० जहाज पोखरा आइपुगेका हुन् ।

चीनको छेङ्दुबाट आएका ती जहाज बिहान ९ः३० र ९ः४० मा अवतरण गरेका हुन् । ती जहाजका सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ ट्रकले रुकुम पश्चिम र नेपालगञ्ज पुर्‍याउने छ । विमानस्थलमा ती सामग्री बुझ्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र हस्तान्तरण गर्न चिनियाँ राजदूत छन् सोङ नेपाली सेनाको जहाजमार्फत पोखरा आइपुगेका छन् ।

उत्तरी छिमेकी राष्ट्र चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ । यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको थियो ।
यसअघि पहिलो खेपमा राहत सामग्री बोकेका ट्रकहरू सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको छ ।

राजदूत सोङका अनुसार मंगलबार घोषणा भएको १३ मिलियन आरएमबी अर्थात् नेपाली एक करोड ३३ लाख १० हजार ६० रुपैयाँ सहयोग दिने भएको छ । नेपालका भूकम्पपीडितका लागि रेडक्रस सोसाइटी अफ चाइनले दिने यो नगद सहयोगलाई चीनले आपत्कालीन नगद सहयोग भनेको छ । जसलाई नेपालका भूकम्पपीडितको राहतमा खर्च गरिने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको