एमाले सुदूरपश्चिम अधिवेशन : १ बजेदेखि मतदान, सर्वसम्मतिको प्रयास जारी
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । हिजो साँझ मतदान गर्ने भनिए पनि सम्भव नभएपछि आज मतदान हुन लागेको हो । निर्वाचन समितिका अनुसार दिउँसो १ बजेबाट मतदान सुरु हुनेछ । १ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुने भएको समितिले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।
त्यसअघि बिहान ८ बजे उमेदवारको नाम फिर्ताको समय तोकिएको छ । उमेदवारको अन्तिम नामावली प्रकाशन बिहान ९ बजे हुने कार्यतालिका छ । एमाले सुदूरपश्चिमको अध्यक्षका लागि चार जनाले उमेदवारी दिएका छन् । अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव कैलालीकै नेपालु चौधरी र कञ्चनपुरकी कलसा महरालाई बनाउने गरी खाका बनेको छ । त्यसैमा सहमति गराउने प्रयासमा नेताहरू लागेका छन् ।
अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउँदले अहिलेसम्म उम्मेदवारी फिर्ता लिएका छैनन् । उपाध्यक्षतर्फ पनि हजारीसिंह साउदले उम्मेदवारी फिर्ता फिए पनि कालीबहादुर शाहीसहितका पाँच जनाको उम्मेदवारी यथावत छ ।
सचिवमा उम्मेदवारी दिएका जीवन बमले फिर्ता लिएका छन् भने राजेश खाती र रतनबहादुर रेग्मीको उम्मेदवारी कायमै छ । उपसचिवमा पल्लभराज भट्टले उम्मेदवारी फिर्ता लिएका छन् भने अन्यको उम्मेदवारी कायमै रहेको निर्वाचन कमिटीले जनाएको छ । प्रमुख निर्वाचन अधिकृत पदम पालले उम्मेदवारी फिर्ता लिने समय बिहान ८ बजेसम्म कायम गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्