October 17, 2026, Saturday
KN hd tv

सुन्धाराको गेस्ट हाउसमा युवती मृत फेला

काठमाडौं । काठमाडौंको सुन्धारास्थित गुरु गेस्ट हाउसमा १७ वर्षीया युवती मृत भेटिएकी छन् । ललितपुरको इमाडोलका राउत थर गरेको युवती मृत फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले विषको बट्टा पनि फेला पारेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भूमिका राउत र उनका प्रेमी १५ दिनदेखि होटलमा बसिरहेकोमा तीन दिनअघि उनीहरुसँग भएको पैसा सकियो । पैसा लिएर आउँछु भन्दै प्रेमी बाहिर निस्किए । पैसा लिएर सोमबार बिहान प्रेमिका बसेको होटलमा पुग्दा उनले ढोका खोलिनन् । ‘धेरै पटक ढक्ढक्याउँदा पनि नखुलेपछि स्टाफ समेत बोलाएर भ्यान्टिलेसनबाट हेरेछन्’ प्रहरी वृत्त, जनसेवाका एक अधिकृत भन्छन्, ‘त्यसपछि शंका लागेर प्रहरीलाई खबर गरे ।’

लगत्तै प्रहरी वृत्त, जनसेवाको टोली पुगेर ढोका फोड्यो । त्यसक्रममा भूमिका मृत अवस्थामा भेटिइन् । नजिकै विषको बट्टा पनि बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेल बताउँछन् । मंगलबार राउतको परिवारले प्रेमीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएको छ । लगत्तै प्रहरीले प्रेमीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । काठमाडौं प्रहरीका अनुसार, उनलाई हिरासतमा राख्न अनुमति लिन अदालतमा पुर्‍याइएको छ ।

‘अब यो प्रकरणमा विस्तृत अनुसन्धान सुरु हुन्छ’, प्रहरी अधिकृतहरु भन्छन् । घटनास्थलमा सुसाइड नोट वा अरु कुनै संकेत फेला परेको छैन । प्रहरीका अनुसार, युवतीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ भने युवतीको भिसेरा जाँच पनि गर्ने तयारी छ । भिसेरा जाँचबाट युवतीले मृत्यु हुनुअघि के के खाएकी थिइन् भन्ने खुल्ने अधिकृतहरु बताउँछन् ।

शीर्ष समाचार

धेरै पढिएको