कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा
धादिङ । धादिङको गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन् ।
विसं २०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरोमा पर्यो । जमिन चिरा पर्यो । घर र वस्तुभाउ बाँध्ने गोठहरु पनि भत्किए । २१ परिवार विस्थापित भए । त्यतिबेलादेखि नै चामबासका पहिरो विस्थापितहरु बाह्रबीसेमा बस्दै आएका थिए । चार वर्षसम्म सरकारको निर्णय पर्खेर बसेका विस्थापितहरु त्रिपालमा बालबच्चा र वृद्धवृद्धाको बिचल्ली सहन नसकेर ‘मरे घरैमा मर्छौं’ भन्दै भत्किएकै बस्ती नै फर्किन थालेका छन् ।
हर्कबहादुर तामाङ, मानबहादुर तामाङ, राजन तामाङ परिवारसहित पुरानै घर फर्किएका छन् । उनीहरु भन्छन्, ‘त्रिपालभित्र बालबच्चा र वृद्धवृद्धा जोगाउन साह्रै कठिन भयो, बजारमा कोठा लिएर बस्न सक्ने अवस्था पनि रहेन । मरे पनि बरु घरमै मरौँ भनेर फर्कियौँ ।’ बाहिर हिँड्डुल गरेर कमाउन सक्ने जहान भएका १२ परिवारले गजुरी र बिहानी पम्प आसपासमा कोठा भाडामा लिएर बस्न थालेका छन् ।
बिहान कमाएर बेलुकाको छाक टार्नुपर्ने बाध्यतामा रहेका विस्थापित परिवारले कोठा भाडामा लिए पनि सजिलैसँग भाडा तिर्न सक्ने अवस्थामा छैनन् । कोठा भाडा तिर्ने आँट गर्न नसकेका र पुरानै घर भत्किएका छ घर अझै त्यही छ । ‘घर नभत्किएकाहरु जोखिमपूर्ण बस्ती नै फर्किए र कमाउन सक्नेहरु कोठा भाडामा बस्न गए’, अहिले पनि त्रिपालमै बस्दै आएकी ६६ वर्षीय सेतीमाया तामाङ भन्छिन्, ‘मेरो कोही छैन म कहाँ जाउँ ।’

प्रतिकृया दिनुहोस्