December 6, 2023, Wednesday
२०८० मंसिर २०, बुधबार
KN hd tv

इमरान खानको गिरफ्तारीमा अमेरिकाले दियो पहिलो प्रतिक्रिया

मङ्गलवार दिउँसो भएको इमरान खानको गिरफ्तारीपछि पाकिस्तानमा विभिन्न स्थानमा हिंस्रक प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा आगजनीसमेत भइरहेका छ ।

इमरानलाई रातारात इस्लामाबादस्थित प्रहरी लाइनको मुख्यालयमा ट्रान्सफर गरिएको छ । मुख्यालयलाई सब–जेलमा परिवर्तन गरिएको छ । नेशनल एकाउन्टिबिलिटी ब्युरो (न्याब) को अदालती सुनुवाइ पनि गेस्ट हाउसमा सञ्चालन भइरहेको छ ।

यो घटनामा अब अमेरिकाले पहिलो पटक प्रतिक्रिया दिएको छ । ह्वाइट हाउसकी प्रेस सचिव केरिन जेन–पियरेले अमेरिकालाई पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीबारे जानकारी भएको बताएकी छिन् ।

९ मेमा भएको पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफमा उनले भनिन्, ‘हामीले पहिले पनि भन्दै आएका छौँ कि अमेरिकाले कुनै पनि राजनीतिक उम्मेदवार वा पार्टीलाई समर्थन गर्दैन । हामी विश्व भरी लोकतान्त्रिक सिद्धान्त र कानुन शासनको सम्मानको माग गर्छौँ ।’

बुधवार न्याबको अदालत गेस्ट हाउसमा नै भारी सुरक्षाबीच सञ्चालन गरियो । इमरान खानलाई यहाँ नै पेस गरिनेछ । न्याबले इमरान खानको १४ दिनका हिरासत माग गर्न सक्छ ।

इस्लामाबाद उच्च अदालतले मङ्गलवार अबेर राती इमरान खानको गिरफ्तारीलाई वैध बताएको छ । तहरिक–ए–इन्साफका नेता फवाद चौधरीले उच्च अदालतको निर्णयलाई हैरान गर्ने खालको बताउँदै यो निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिइने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको