ब्राजिलका विश्व प्रसिद्ध फुटबल खेलाडी पेलेको निधन
काठमाडौं – ब्राजिलका महान फुटबलर पेलेको निधन भएको छ । विशव प्रसिद्ध पेले लामो समयदेखि क्यान्सर रोगसँग संघर्षरत थिए । साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा ८२ वर्षीय पेलेको बिहीबार दिउँसो स्थानीय समय अनुसार ३ः२७ बजे निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । इन्स्टाग्राममा उनकी छोरी केली न्यासिमेन्टोले पेलेको निधनको पुष्टि गरिन् । ‘हामी अहिले जे छौँ, त्यो सबै तपाईंको कारण सम्भव भएको हो । हामी तपाईंलाई धेरै माया गर्छौं । हार्दिक श्रद्धाञ्जली !’
तीन पटक विश्वकप विजेता पेले क्यान्सर, मिर्गौला र मुटुसँग सम्बन्धित रोगबाट पीडित थिए । सन् १९५८, १९६२ र १९७० मा तीन पटक विश्वकप जित्ने एक मात्र खेलाडी पेले सन् २००० मा फिफाको प्लेयर अफ द सेन्चुरी घोषित भएका थिए । उनले सन् १९७१ मा ब्राजिल राष्ट्रिय टिमबाट सन्यास लिएका थिए।
पेलेले आफ्नो फुटबल करिअरमा जम्मा १३ सय ६३ खेल खेले । जसमा उनले १२ सय ८१ गोल गरे । ब्राजिलका लागि उनले ९१ खेलमा ७७ गोल गरेका थिए । पेलेको ट्वीटर खाताको पोस्टमा भनिएको छ ः प्रेरणा र प्रेमले आज शान्तिपूर्वक निधन भएका राजा पेलेको यात्रालाई चिन्ह लग्यो । माया, माया र माया, सधैंभरि ।
ब्राजिलियन फुटबल कन्फेडेरेसनले भनेको छ, ‘पेले सबै समयका महान खेलाडी भन्दा धेरै थिए । हाम्रो फुटबलको राजा एक विजयी ब्राजिलको सबैभन्दा ठूलो प्रतियोगी थिए, जो कठिनाइको सामना गर्दा कहिल्यै डराउँदैनन् । उहाँले आफ्नो बुबालाई विश्वकपको वाचा गर्नुभयो र उहाँले हामीलाई तीन वटा उपहार दिनु भयो । राजाले हामीलाई नयाँ ब्राजिल दिनुभयो र हामी उहाँको विरासतको लागि धेरै आभारी छौं । धन्यवाद, पेले ।’
#विश्व
प्रतिकृया दिनुहोस्