July 27, 2024, Saturday
KN hd tv

सप्तकोशी र नारायणीमा पानीको बहाव यो वर्षकै उच्च, खतराको बत्ति बालियो

काठमाडौं – पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । नारायणी नदीमा पानीको सतह र बहाव उच्च भएको छ । सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च भएपछि खतराको संकेतस्वरुप रातो बत्ती र रोता झण्डा फहराएको छ ।  सप्तकोशी नदीमा शुक्रबार दिउँसो १२ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेण्ड २ लाख २५ हजार ५५ क्यूसेक पुगेको छ ।  पानीको बहाव बढेसँगै सप्तकोसीका ५६ मध्ये ३३ वटा ढोका खोलिएका छन् ।

पूर्वी पहाडी र मध्यपहाडी जिल्लामा परेको लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । सप्तकोसीमा प्रतिसकेण्ड पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । यता नारायणी नदीमा पनि शुक्रबारबाट पानीको सतह बढ्दै गएको छ । नारायणीमा पानीको सतह बढेपछि स्थानीय सरकारले खोला किनारमा बसोबास गरेकाहरुलाई सुरक्षित स्थानमा जान माइकिङ गरेको छ ।

देवघाटमा रहेको जलमापन केन्द्रले नारायणी नदीको देवघाटमा शुक्रबार अपरान्ह ७.१८ मिटर र नारायणगढ पुलमा १०.७१ मिटर पानी रहेको जनाएको छ । नारायणीमा पानीको सतह बढ्दा भरतपुर महानगरपालिकाको १, ३, ४, १६, १७, १८, २२ र २४ देखि २८ सम्मका वडाहरु डुबान र नदी कटान उच्च जोखिममा पर्छन् । त्यस्तै वडा नम्बर २९ का अधिकांश भागहरु पहिरोको जोखिममा पर्ने गरेको स्थानीयले जनाएका छन् ।  

शीर्ष समाचार

धेरै पढिएको