अविरल भारी वर्षातका कारण पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द
काठमाडौं – अविरल भारी वर्षातका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहहरुबाट क्रमश : करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षातका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिए । बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङले बताए ।
‘विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढ भएको छ, करिब ५ सय मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं’,घिसिङले भने, ‘आफ्नो उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको छ ।’
उनले बन्द रहेका विद्युत्गृह, प्रसारण तथा वितरण लाइन संचालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको जानकारी दिए ।
बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ए विद्युतगृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको वहाव झन् बढेर आएकाले विद्युत्गृह कतिवेला संचालन गर्न सकिन्छ अहिले नै केही भन्न नसकिने केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्