लकडाउनले चिया क्षेत्रमा समस्याः श्रमिक र किसानलाई हातमुख जोड्न गाह्रो
इलाम – मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पु¥याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पु¥याउन नसक्दा समस्या भएको छ ।
विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ । यो चियाको अन्य सिजनको भन्दा गुणस्तरीय हुने भएकाले महँगोमा बिक्री हुन्छ तर यस वर्ष भने सोही समयमा बन्दाबन्दी भएपछि गुणस्तरीय चिया टिप्न सकिएन ।
गुणस्तरीय चिया नै प्रशोधन गर्न नसकिएपछि लाखौँको घाटा व्यहोर्नु परेको इलाम नगरपालिका–४ को जसवीरे चिया प्रशोधन केन्द्रका सञ्चालक सरद सुब्बा बताउनुहुन्छ । मुख्य सिजनमै उद्योग बन्द गर्नु पर्ने भएपछि तेस्रो मुलुकबाट चियाको माग आए पनि पठाउन नसकिएको सुब्बाको गुनासो छ ।
“हामी चीनलगायतका तेस्रो मुलुकमा तयारी चिया पठाउछौँ तर यो वर्ष अन्तर्राष्ट्रिय बजार ठप्प हुँदा अझैसम्म पनि पठाउन सकिएको छैन”, सुब्बाले भन्नुभयो, “चिया किनेर प्रशोधन त गरियो तर बिक्री नहुँदा किसान र श्रमिकलाई दिने रकमसमेत छैन ।” उहाँका अनुसार लकडाउनको समयमा चिया बिक्री त भएन नै श्रमिक र किसानलाई हातमुख जोड्ने रकमको समेत समस्या प¥यो । त्यही सिजनमा चियाको भुक्तानी पनि दिन नसक्दा धेरै चिया किसान–श्रमिक चिढिएको सुब्बाको भनाइ छ ।
पछिल्लो समय चिया बिक्री हुन नसकेपछि केही दिन उद्योग नै बन्द गर्नुपर्दा घाटा व्यहोर्नु परेको सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका प्रमुख उदय चापागाईँले बताउनुभयो । विभिन्न संस्था र व्यक्तिको सहयोगले प्रशोधन उद्योग खुले पनि बजारमा चिया पु¥याउन भने अझै समस्या पर्ने गरेको चापागाईँको भनाइ छ । “एक चोटिको चिया चाहिँ गइसक्यो । लकडाउनकै समयमा भारतले चिया भन्सारमै रोकिदिएपछि पनि जान ढिला भयो”, चापागाईँले भन्नुभयो, “तर अहिले अवस्था सामान्य भइसक्यो ।”
उहाँले चिया बजारसम्म नपुगे पनि आफूले श्रमिक र किसानलाई पारिश्रमिक र चियाको मूल्य भने दिँदै गरेको जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहोस्