October 22, 2024, Tuesday
KN hd tv

कांग्रेसको महाधिवेशन आगामी फागुनमै गर्ने गरी प्रस्ताव पेश

काठमाडौं- नेपाली कांग्रेसले आगामी फागुन ७ गतेदेखि शुरु हुने महाधिवेशन समयमै सम्पन्न गर्नेगरी तल्लो तहको आन्तरिक कार्यतालिका परिमार्जन गर्ने प्रस्ताव पेश गरेको छ ।

आज केन्द्रिय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने गरी प्रस्ताव पेश गरेको हो ।

केन्द्रीय समिति बैठकले असार १५ गते भित्र सक्ने भनेर निर्धारण गरेको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने गरी तयारी गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शर्माका अनुसार साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुष ७ गते देशभरीका ७ हजार वडाको अधिवेशन गर्ने प्रस्ताव पनि केन्द्रीय समिति बैठकले गरेको छ ।

७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते, प्रदेशसभाको पुष ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने प्रस्ताव पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुष १६ गते, प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने  प्रस्ताव कांग्रेस केन्द्रीय समिति बैठकले गरेको छ ।

कांग्रेसले प्रधानमन्त्रीले सरकार परिवर्तनका लागि भारतले षडयन्त्र गरिरहेको भनेर दिएको अभिव्यक्तिका विषयमा समेत बैठकमा छलफल भएको छ ।

बैठकपछि प्रवक्ता शर्माले भने,‘ नक्साको विषयलाई आफूले दिएको अटोग्राफजस्तो सोचेर पारित भएपछि मलाई हटाउनतर्फ अमुख देश लाग्यो भन्ने अभिव्यक्ति गैरजिम्मेवार, कुटनीतिक मूल्य मन्यताभन्दा बाहिरको अभिव्यक्ति छ ।’

शीर्ष समाचार

धेरै पढिएको